गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाएको छ । संसदीय व्यवस्था रहेका मुलुकमा सदनको सञ्चालन अवधि, काम कारबाही, समिति सञ्चालनलगायतका व्यवस्था समेटेर क्यालेन्डर निर्माण गर्ने अभ्यास छ तर नेपालमा कार्यतालिका अनुसार संसद् चलाउने अभ्यास छैन । उक्त कमीलाई परिपूर्तिका लागि क्यालेन्डर निर्माणको अध्ययन थालिएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको संयोजकत्वमा अध्ययन भइरहेको छ ।
मोटामोटी रूपमा संसद्का अधिवेशन प्रारम्भ र अन्त्य तथा साप्ताहिक रूपमा सदनले सञ्चालनका दिनलगायत तोक्ने गरी अहिले अध्ययन भइरहेको सचिव फुयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अधिवेशनको प्रारम्भ र अन्त्य कहिले हुने तथा हप्तामा कुन कुन दिन बैठक बस्ने कुन कुन विषय हुने भन्ने निश्चित गरेर क्यालेन्डर निर्माण अध्ययन भइरहेको छ । मोटामोटी रूपमा दुईवटा एक्टिभ सेसन हुने र अन्य अवधि सांसदलाई पनि आफ्ना निर्वाचन क्षेत्रलगायतका काम गर्न पाउने गरी तालिकाको गृहकार्य भइरहेको छ ।”
क्यालेन्डरमा हिउँदे अधिवेशनको आह्वान र अन्त्यको समय निश्चित गरिने छ । साथै बर्खे अधिवेशन कहिले सुरु हुने र कहिले सकिने पनि क्यालेन्डरमा समेटिने छ । तयारीअनुसार आइतबारदेखि बिहीबारसम्म सदनको पूर्ण बैठक बस्ने छ भने शुक्रबारदेखि आइतबारसम्म सदन नचलाउने गरी अध्ययन भइरहेको छ । तीन दिनको खाली अवधि हुँदा विधेयकमाथि संशोधन दर्तालगायतका प्रक्रियालाई समय हुनेछ ।
क्यालेन्डर निर्माणकै क्रममा सरकारसँग समेत परामर्श हुनेछ । तर्जुमा भएकै क्यालेन्डरअनुसार सरकारले अधिवेशन आह्वान र अन्त्य गर्नेछ । जसले संसद्को अधिवेशन र काम–कारबाहीलाई अनुमानयोग्य बनाउने छ । मूल सदनको क्यालेन्डर प्रभावकारी बनेमा समिति र विधेयकको पनि क्यालेन्डरमा अध्ययन हुने सचिव फुयालले बताउनुभयो । अध्ययन समितिले मस्यौदालाई अन्तिम रूप दिनुअघि राजनीतिक दलका संसदीय दलका पदाधिकारीसँग पनि छलफल गरेर अन्तिम रूप दिनेछ । तयार प्रतिवेदनलाई सचिवालयले महासचिवमार्फत सरकारलाई पठाइने छ ।
अध्यक्षद्वारा परामर्श
राष्ट्रिय सभामा सदस्यहरूले उठाउनुभएका विषयवस्तुमा सार्वजनिक सञ्चारमाध्यमले पर्याप्त स्थान नदिएको गुनासो बढेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परामर्श गर्नुभएको छ । सदस्यहरूको निरन्तरको गुनासोपछि तिमिल्सिनाले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यकारी प्रमुख र सम्पादकसँग परामर्श गर्नुभएको हो ।
परामर्शमा अध्यक्ष तिमिल्सिनाले उठाइएका विषयवस्तुलाई प्राथमिकता दिन के कस्ता समस्या छन् भनी जिज्ञासा राख्नुभएको थियो । उहाँले सांसदहरूले उठाएका सार्वजनिक महìव र जनचासोका विषयलाई सकेसम्म स्थान दिन आग्रह पनि गर्नुभएको थियो । छलफलमा सार्वजनिक सञ्चारमाध्यमका सम्पादकहरूले संसद्का दुवै सदनका गतिविधिलाई सकेसम्म यथोचित स्थान दिने प्रतिबद्धता जनाउनुभएको थियो ।