ललित बसेल
सुर्खेत, फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनका लागि सुर्खेतमा ५१ प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरु कार्यक्षेत्र लागेका छन् । सोमवार प्रदेश निर्वाचन कार्यालयबाट ती सामग्रीहरु बोकेर उनीहरु आ—आफ्नो कार्यक्षेत्र लाग्न सुरु गरेका हुन् । निर्वाचन गराउन खटिएका टोलीले ५१ प्रकारका सामग्रीहरु बोकेका छन्।
मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका ५१ प्रकारका सामग्रीहरु लिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले आइतवार मतदान अधिकृतको टोलीले सवै सामानहरु रुजु गरेको र सोमवार बिहानदेखि ती सामग्रीहरु बुझेर कार्यक्षेत्र खटिन सुरु भएको जानकारी दिनुभयो । सोमवार साँझसम्म सवै कर्मचारीले सामानहरु बुझेर कार्यक्षेत्र पुगिसक्ने उहाँले बताउनुभयो ।
यसैगरी कर्णालीका दुर्गम हिमाली क्षेत्रमा भने हेलिकप्टरबाट मतदान सामग्री र कर्मचारीहरु सोमवार साँझसम्म पुगिसक्ने छन् । प्रदेश निर्वाचन अधिकारी गुरुङका अनुसार हुम्लाका आठ मतदान केन्द्र, डोल्पाका २० मतदान केन्द्र र मुगुका तीन मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारीहरुलाई हेलिकप्टरबाट पठाइनेछ । उहाँले सोमवार बिहानसम्मको निर्वाचनको तयारी करिव करिव अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । कर्मचारीहरु मतदान केन्द्रमा पुगेपछि मतदानको तयारीका लागि आवश्यक पर्ने काम, सर्वदलीय बैठक लगायतका कामहरु गर्नेछन्।
कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन् । ९४१ मतदान स्थलमध्ये ७७९ वटा मतदान स्थल संवेदनशील मानिएको छ । यसमा संवेदनशील ४२० वटा र अति संवेदनशील ३५९ वटा रहेका छन् । सामान्य १६२ वटा मात्र छन् । अस्थायी मतदान स्थल १८ वटा छन् ।
त्यस्तै एक हजार ४३७ वटा मतदान केन्द्रमध्ये एक हजार एक सय वटा मतदान केन्द्र संवेदनशील छन् । जसमा संवेदनशील ६५९ वटा र अति संवदेनशील ४४१ वटा रहेका छन् । सामान्य मतदान केन्द्र ३०१ वटा रहेका छन् । अस्थायी मतदान केन्द्र १८ वटा रहेका छन् । प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । कर्णालीमा १२ निर्वाचन क्षेत्रका लागि १३७ जनाको उम्मेदवारी रहेको छ ।