प्रेम अधिकारी
पशुपतिनगर (इलाम), फागुन १८ गते । फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द (शील) गर्न लागिएको हो ।
निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा क्षेत्रबाट सम्पूर्ण आउजाउ बन्द गरी आज रातिदेखि सिमा शील गरिने इलामका प्रमुख जिल्ला अधिकारी लक्षुमन ढकालले जानकारी दिनुभयो ।
इलामको सलकपुरदेखि सन्दकपुरसम्मको ५२ दशमलव ५ किलोमिट नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेको छ । यी क्षेत्रमा खुल्ला रुपमा दुबै देशतर्फ आउजाउ हुने गरेको छ । मुख्य रुपमा पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे र जौबारीबाट आउजाउ हुने गरेको छ ।
नाका ७२ घण्टा अर्थात फागुन २१ गते साँझ ५ बजे मतदान सकिएपछि खुल्ला गरिने प्रशासनले जनाएको छ । मौन अवधिको समयमा दुबै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा आउजाउ रोक्न र सुरक्षाका लागि समन्वयकारी भूमिका खेल्ने प्रजिअ ढकालले जानकारी दिनुभयो ।
नेपालको बिभिन्न जिल्लाका नागरिक भारतमा काम गर्न र अध्ययनका लागि यी नाका प्रयोग गरी आउजाउ गर्ने गर्दछन् । यस पटकको निर्वाचनमा यी नाका भएर भारतमा रहेका नेपाली न्यून संख्यामा मात्र नेपाल आएको पाइएको छ ।