• १८ फागुन २०८२, सोमबार

मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर मदान स्थल तर्फ जाने तयारी गर्दै कर्मचारी र सुरक्षाकर्मीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्र र अन्य निर्वाचन सम्बन्धी सामग्री बुझेर मतदान स्थल तर्फ जान थालेका छन् । 

बेनीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझेर मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहयोगी कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतदान स्थल तर्फ प्रस्थान गर्न लागेका हो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू कारण मुख्य निर्वाचन अधिकृतको कार्यालय वरपर निकै चहलपहल बढेको छ । 


निर्वाचनको पूर्वतयारीका लागि निर्वाचनमा खटिएका कर्मचारीसँगै सुरक्षाकर्मीहरू जिल्लामा रहेका विभिन्न मतदान स्थलहरूमा निर्वाचन सामग्री सहित जान थालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालायबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारीहरूले सोमबार बिहानदेखि निर्वाचनका लागि मतपत्र बुझेर कार्यस्थलतर्फ जान लागेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले बताउनुभयो । मतपत्र र सुरक्षणसिल मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयबाट बुझाउने व्यवस्था मिलाइएको छ । 

मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो,‘‘निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू आजै मतदान स्थलमा पुग्नुपर्दछ । त्यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझाउने काम भइरहेको छ ।’’  निर्वाचन सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था मिलाइएको छ । ती सामग्रीलाई मतदान केन्द्रका अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले सुरक्षा दिएर राख्ने व्यवस्था गरिएको छ ।  

मतदान स्थलमा पुगेका मतदान अधिकृतसहितका कर्मचारीले आजै मतदान केन्द्र वरिपरि कुनै पनि प्रकारका मादकपदार्थ सेवन गर्न नपाइने,उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने लगायतको जानकारीसहितको सूचना टाँस गर्नुपर्ने र निर्वाचनका लागि आवश्यक अन्य तयारी गर्नुपर्ने छ । 

मतदान स्थलमा सूचना टाँसीसकेपछि सर्वदलीय बैठक बसेर सहमती जुटाउने प्रक्रिया कर्मचारीले गर्दछन् । त्यसपछि मतदान स्थल निर्माणको काम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीका अनुसार जिल्लामा निर्वाचन सम्पन्न गर्न  एकसय २२ मतदान अधिकृत,सोही सङ्ख्यामा सहायक मतदान अधिकृतसहित एक हजार ७४ जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचनमा खटिएका सबै कर्मचारीहरू आज साँझ सम्म मतदान स्थलमा पुगिसक्ने उहाँले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । 

जिल्लामा ८२ वटा मतदान स्थल र १ सय २० वटा मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदान स्थल लाई सामान्य भनेर वर्गीकरण गरेको छ ।