• १२ असोज २०८१, शनिबार

पाँच नेताको भेटवार्ता

नेकपाका तत्कालीन बहुमत सचिवालय सदस्यको भेट : पार्टी एकताको विषयमा छलफल

blog

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा मंगलबार दिउँसोको छलफलमा सहभागी तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्य । तस्बिर सौजन्य : सूर्य किरण

काठमाडौं, साउन ३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ। 

मंगलबार सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्य पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो। 

भेटवार्ताको क्रममा विचार मिल्नेका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामी बसेको तपाईंलाई थाहा भइहाल्यो, हामी नेकपा कालका सचिवालयका बहुमत सदस्य छौँ। हामी दोस्रो बैठक बस्यौँ। अस्ती पनि बसेका थियौं। आजको बैठकमा हामीले मुख्यतः अहिले सबै पार्टीले आ–आफ्नो निर्णय गरेका छन्। नेपाली कांग्रेसको पनि केन्द्रीय समिति बैठक हिजो सकियो। उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ। त्यो बारेमा पनि हामीले चर्चा गर्‍यौँ।’’

उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनविरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो। गठबन्धन कायम राखेर जानुपर्छ भन्ने विषयमा विमति नभएको उहाँको भनाइ छ। 

‘‘स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ। अर्कोतिर हिजो हामी नेकपा त एउटै पार्टीवाला भयौँ। त्यसो भएको हुनाले विचार मिल्नेको बीचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ। त्यो भनेको यो गठबन्धनविरुद्ध भनेको होइन। पार्टी एकीकरणको बारेमा चर्चा गरेको छौँ।’

अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जान कसैको पनि आपत्ति नभएको बताउनुभयो। उहाँले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गर्नुभयो।