• १७ फागुन २०८२, आइतबार

मतदानका लागि स्वदेश फर्किनेको लर्को

blog

मतदान गर्न स्वदेश फर्किंदै गरेका नेपाली बाँकेको जमुनाह नाकामा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १७ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली अहिले ठुलो सङ्ख्यामा बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । 

अहिले नेपालबाट भारततर्फ जानेभन्दा भारतबाट नेपाल फर्किने नेपालीको सङ्ख्या बढेको जानकारी इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक किरण मल्लले दिनुभयो । उहाँले निर्वाचनमा सहभागिता जनाउनकै लागि अहिले यो नाका भएर स्वदेश फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक पाँच सयदेखि हजारको सङ्ख्यामा नेपाली फर्किरहेका छन् । 

स्वदेश फर्किने व्यक्तिको सहज आवागमनका लागि आवश्यक समन्वय र व्यवस्थापन गरिएको बताउनुभयो । नाकामा भेटिएका अधिकांश नेपालीले निर्वाचनमा मतदान गर्न स्वदेश 

फर्किएको बताएका छन् ।  स्वदेश फर्किएका दैलेख नौमुलेका नरेश थापाले मतदानका लागि बिदा लिएर फर्किएको जनाउँदै देशलाई सक्षम, इमानदार तथा जनताका पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमै रोजगारी सिर्जना गर्ने र युवालाई बिदेसिनु नपर्ने वातावरण बनाउने नेतृत्व चाहिन्छ, हामी सबैको जोड यसैमा छ ।” सुर्खेत छिन्चुका सुरेश खड्काले आफ्नो क्षेत्रका युवाका लागि केही गर्न सक्ने उम्मेदवार जिताउने आशा लिएर यस पटक फर्किएको बताउनुभयो । 

जाजरकोट ढिमे घर भएका भीमबहादुर सिंह पनि आफ्ना छ जना साथीसँगै स्वदेश फर्किनुभएको छ । कामका लागि भारतको हिमाचल प्रदेशको रामपुर पुग्नुभएका उहाँले पनि निर्वाचनमा मतदान गर्न नेपाल फर्किएको बताउनुभयो । सिंहले भन्नुभयो, “अब निर्वाचन परिवर्तन र देश बनाउनका लागि हुनु पर्छ, भ्रष्टाचार र ढिलासुस्तीलाई अब छुट दिनुहुँदैन । मतदान गर्दा पनि यी कुरालाई ध्यान दिनै पर्छ ।” जमुनाह नाकामा भेटिएका भारतबाट फर्किएका अधिकांश नेपालीले नेपालीलाई स्वदेशमै गरिखाने वातावरण बनाउने र कसैलाई काखा कसैलाई पाखा नगर्ने उम्मेदवार तथा दललाई जिताउनुपर्ने बताएका छन् ।