भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दे कञ्चनपुरमा १९ जनाले मात्र प्रहरीलाई हातहतियार बुझाएका छन् । जिल्लामा झन्डै दुई सय हातहतियार दर्ता रहेकोमा हालसम्म १९ जनाले हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
प्रहरी कार्यालयका अनुसार, हातहतियार दर्ता गरेका सर्वसाधारणहरूलाई समयमै बुझाउन आग्रह गरिए पनि हालसम्म १९ हातहतियार जिल्लास्थित प्रहरी चौकी, इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार, हातहतियार दर्ता गरेका अधिकांश सर्वसाधारणहरूका द्वन्द्वकालमा नष्ट भएका गरिएका हातहतियार समेत अझै प्रशासनमा अभिलेख राखिएको बताउनुभयो । नष्ट भएका हातहतियारको अभिलेख हटाउदै बाँकी हतियारधारीको खोजी भइरहेको उहाँले बताउनुभयो ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यस अघि स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो ।