• १६ फागुन २०८२, शनिबार

फरक क्षमतामैत्री भएनन् मतदान केन्द्र

blog

मतदान केन्द्रको अनुगमन गर्दै मुख्य निर्वाचन अधिकृतसहितको टोली । तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता

सल्यान, फागुन १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएका छन् । अधिकांश मतदान स्थलनजिकैसम्म सडक पुगे पनि ती स्थल अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकमैत्री बन्न नसकेको सरोकारवालाले बताएका छन् ।

जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता छन् । यसमध्ये अपाङ्गता भएका व्यक्तिको सङ्ख्या सात हजारभन्दा बढी रहेको छ । तीमध्ये क र ख वर्गका अपाङ्गता भएका मतदाता मात्रै चार हजारभन्दा बढी छन् । मतदान स्थल अपाङ्गमैत्री नहुँदा क र ख वर्गका अशक्त मतदाता बढी समस्यामा पर्ने गरेका छन् । जिल्लाका अधिकांश मतदान स्थल विद्यालय भवनमा राखिएका छन् । मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था सन्तोषजनक नहुँदा अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने गरेको छ । कल्याणकारी अपाङ्ग सङ्घ सल्यानका अध्यक्ष कृष्णबहादुर बुढाले भौगोलिक विकटता र पूर्वाधार अभावका कारण मतदान केन्द्र पूर्ण रूपमा अपाङ्गमैत्री बन्न नसकेको बताउनुभयो । उहाँका अनुसार अपाङ्गता भएका मतदाताले मतदान केन्द्रसम्म पुग्न अझै पनि अरूको सहारा लिनुपर्ने अवस्था छ । साँघुरा र उकालो सडकका कारण ह्विलचेयर प्रयोगकर्तालाई झन् समस्या हुने गरेको छ ।

मानव अधिकार रक्षक सञ्जाल सल्यानले मतदान स्थल अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण गराएको छ । सञ्जालका सचिव प्रदीप मगरले गाडी पुग्नु मात्र अपाङ्गमैत्रीको मापदण्ड नभएको बताउनुभयो । सडक सुधारसँगै बस्ने स्थान, खानेपानी र शौचालयको उचित व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ । दार्मा गाउँपालिका–१ का डम्बर रोकायले निर्वाचन कार्यालयले शान्तिपूर्ण र सुरक्षित निर्वाचनमा ध्यान दिए पनि अपाङ्गमैत्री पूर्वाधार निर्माणमा पर्याप्त पहल हुन नसकेको बताउनुभयो । दार्मा गाउँपालिका–६ का वडाध्यक्ष देवी केसीले वडाका मतदान केन्द्र अपाङ्ग तथा अशक्तमैत्री नभएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले मतदान केन्द्रलाई अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकमैत्री बनाउने प्रयास भइरहेको बताउँदै फरक क्षमता भएका मतदातालाई प्राथमिकता दिई मतदानको पालो मिलाइने जानकारी दिनुभयो ।