अमरराज नहर्की
तनहुँ, फागुन १५ गते । तनहुँको आँबुखैरेनी गाँउपालिका–४, मर्स्याङ्दी जलविद्युत् केन्द्रले आफ्नो उत्पादन क्षमता र संरचनाको दिगोपनका लागि ‘प्लान्ट सटडाउन’ लिएर व्यापक मर्मत सम्भार सुरु गरेको छ । फागुन २ गतेदेखि २१ दिनका लागि सुरु गरिएको केन्द्रले जनाएको छ ।
६९ मेगावाट क्षमताको यो केन्द्र प्राधिकरणका विद्युत् गृहहरूमध्ये वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठुलो केन्द्र हो । नदीमा पानीको बहाव न्यूनतम रहने र उत्पादन कम हुने सुख्खायामलाई सदुपयोग गर्दै वर्षौँदेखि थाती रहेका जटिल सिभिल मर्मतका कार्यहरूलाई अहिले प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
केन्द्र प्रमुख कपिलदेव मानजनका अनुसार विगत लामो समयदेखि बाँधस्थल (ड्याम साइट) को माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिक भइरहेको कटानले गर्दा जोखिममा परेको संरचनाको संरक्षण कार्य अहिले मुख्य प्राथमिकतामा छ । यसका साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस’ गेटको मर्मत र क्षतिग्रस्त संरचनाको जीर्णोद्धार कार्य पनि भइरहेको छ । यो गेटले बालुवा तथा ढुङ्गाहरूलाई विद्युत् गृहको सुरुङभित्र छिर्न नदिन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । मर्मतका क्रममा मुख्य इन्टेक नजिक रहेको ‘कम्पनसेटिङ’ पोखरीमा थुप्रिएको बालुवा निकाल्ने र युनिट नं. ३ को पूर्ण ओभरहलिङ गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ ।
मर्मत कार्यलाई तोकिएको समयभित्रै सम्पन्न गर्न ड्याम साइटमा तीन सिफ्टमा कर्मचारी र कामदारहरू परिचालन गरी २४ सै घण्टा काम भइरहेको छ । युनिट नं. ३ को ओभरहलिङका लागि बाह्य जनशक्तिमा भर नपरी यसै केन्द्र र अन्य जलविद्युत् केन्द्रका आफ्नै दक्ष प्राविधिकहरूलाई सङ्लग्न गराइएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनले गर्दा ठेकेदारलाई जनशक्ति व्यवस्थापनमा केही चुनौती देखिए पनि सबै पक्षको समन्वयमा कामलाई द्रुत गति दिइएको केन्द्र प्रमुख मानजनले जानकारी दिनुभयो ।
मानजनका अनुसार गत आर्थिक वर्षमा ४५१.७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको यस केन्द्रले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २९३.५ गिगावाट घण्टा उत्पादन गरिसकेको छ । लामो समयदेखि रोकिएका यी मर्मत कार्यहरू सम्पन्न भएपछि प्लान्टको सुरक्षा र उत्पादन क्षमतामा थप सुधार आउने अपेक्षा गरिएको छ । प्राधिकरणको उच्च व्यवस्थापनले यी कार्यहरूको गम्भीरतालाई बुझेर आवश्यक सटडाउन उपलब्ध गराएपछि अहिले विद्युत् गृहका इलेक्ट्रिकल र मेकानिकल लगायतका सबै प्राविधिक समस्याहरूको समाधान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।