रामकृष्ण बोहरा
बागलुङ, फागुन १५ गते । ४४ औँ मगर एकता दिवसको अवसरमा शुक्रबार पश्चिम बागलुङका तीन गाउँपालिका निसीखोला, तमानखोला र बडिगाडले सार्वजनिक बिदा दिएका छन् । निसी र तमानखोलाले पालिकाभरि बिदा दिएका हुन् भने बडिगाडका तीन वडा ३, ४ र ८ ले मात्र सार्वजनिक बिदा दिएका हुन् ।
निसीखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले सूचना गर्दै गाउँसभाको निर्णया तथा स्थानी सरकार सञ्चालन पात्रो २०८२ अनुसार मगर दिवसमा पालिकाअन्तर्गतका सरकारी कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय र वित्तीय संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
यस्तै, तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित परियारले जारी गरेको सूचनामा स्थानीय बिदासम्बन्धी कार्यविधि, २०८१ अनुसार प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस तथा नेपाल मगर संघको स्थापना दिवसमा सार्वजनिक बिदा दिने व्यवस्थाअन्तर्गत सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र वित्तीय संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
बडिगाडका तीन वडाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । पालिकाका वडा नं. ३, ४ र ८ नम्बर वडाले सूचना जारी गर्दै मगर समुदायको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई सम्मान गर्दै फागुन १५ गते तीन वडाका सम्पूर्ण सरकारी कार्यालय, संघसंस्था तथा सम्बन्धित निकायमा सार्वजनिक बिदा उल्लेख गरिएको छ ।
वडा नं. ३ का वडाध्यक्ष खडकबहादुर पुनले मगर समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धन गर्न बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव, आपसी सम्मान र समुदायबिच एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास वडा कार्यालयहरुले लिएका छन् । यद्यपि, बिदा भएपनि अत्यावश्यक सेवा प्रवाह भने यथावत सञ्चालन हुने वडा कार्यालयले जनाएका छन् ।