नवीनराज कुइँकेल
लमजुङ, फागुन १५ गते । यही फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा लमजुङमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलेको नेपाली कम्युनिस्ट पार्टीबिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक अरू नयाँ दल पनि पुराना दलसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
लमजुङमा आठ वर्षपछि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका एमाले, कांग्रेस, तत्कालीन माओवादी (अहिलेको नेपाली कम्युनिस्ट पार्टी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलबिच प्रतिस्पर्धी हुने देखिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ राजनीतिक दल र स्वतन्त्रसहित १२ जना चुनावी दौडमा रहेका छन् । यहाँका दुवै क्षेत्रमा २०७४ सालमा एमालेसँग मिलेर माओवादी र २०७९ सालमा कांग्रेस–माओवादीसहितको गठबन्धनविरुद्ध एमालेले जितेको थियो । विगतको मतपरिणाम यस पटक हेरफेर हुने यहाँका मतदाताले आकलन गरेका छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा लमजुङको समानुपातिकतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ३१ हजार १७८ मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो । नेपाली कांग्रेस २७ हजार ७९६ मतसहित दोस्रो स्थानमा रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले आठ हजार २१७ मत ल्याएर तेस्रो स्थान हुँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) छ हजार ४८३ मतसहित चौथो स्थानमा सीमित भयो । सो चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ३०८ मत प्राप्त गरेको थियो । २०७९ को निर्वाचनमा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो ।