• १५ फागुन २०८२, शुक्रबार

बाँके क्षेत्र नं. ३ : नयाँ, पुरानाको रोचक प्रतिस्पर्धा

blog

सिराज खान

नेपालगन्ज, फागुन १५ गते । निर्वाचनको मिति नजिकिंदै जाँदा बाँके क्षेत्र नम्बर ३ को चुनावी वातावरण रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौर यस क्षेत्रबाट निर्वाचित हुनुभएकाले कांग्रेसका लागि सिट जोगाउने चुनौती छ भने राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले र नेकपाका लागि पार्टीको साख जोगाउन जित्नुपर्ने दबाब छ । 

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन र राष्ट्रिय स्वतन्त्र पार्टीले खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले सुमन मल्ल तथा नेपाली कम्युनिस्ट पार्टीले दीपक जिएमलाई उम्मेदवार बनाएको छ । 

गत निर्वाचनका विजेता राठौर यस पटक बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको छ । नेपाली कांग्रेसका प्रदेश अध्यक्ष पुन उम्मेदवार भएकाले कांग्रेसका लागि यो क्षेत्र अति नै महत्वपूर्ण बनेको जनाउँदै नेपाली कांग्रेसका स्थानीय नेता महेन्द्र मल्लले पार्टीका लागि यो सिट प्रतिष्ठाको विषय बनेको दाबी गर्नुभयो । गत निर्वाचनमा तत्कालीन माओवादीसँंगको गठबन्धनमा कांग्रेसका उम्मेदवार राठौरले निर्वाचन जित्नुभएको थियो । 

यस पटकका निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएका पुन र रास्वपाका सुनार दुवै जना बाहिरी जिल्लाका बासिन्दा हुनुहुन्छ । पुन रोल्पा र सुनार दैलेख निवासी हुनुहुन्छ । एमालेका उम्मेदवार सुमन मल्लले पुन र सुनार दुवै जनालाई बाहिरी जिल्लाको उम्मेदवार भयो भन्ने आरोप लाग्दै आएको छ । 

रास्वपाका खगेन्द्र सुनारले पछिल्लो समयमा दैनिकजसो सयौँ मतदाता आफ्नो पार्टीसंग जोडिँदै गएकाले आफूले जित्ने आधार निर्माण भएको दाबी प्रस्तुत गर्नुभयो । 

नेपाली कांग्रेसका उम्मेदवार पुनले नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा जितेको क्षेत्र भएकाले आफूलाई यहाँ जित्न सहज बनेको बताउनुभयो । एमाले उम्मेदवार मल्लले आफू लामो समयदेखि स्थानीय विकासमा लागि परेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । नेकपाका उम्मेदवार दीपक जिएमले कांग्रेस, रास्वपा र एमालेको लडाइँबिचबाट आफ्नो जित सहज हुने दाबी गर्नुभयो । स्थानीय मतदाताका अनुसार यो पटक बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचन क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।