गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), फागुन १५ गते । बर्दियामा मतदाता शिक्षा दिनका लागि महिला स्वास्थ्य स्यवंसेविका हरेक घरमा र खेत खेतमा पुग्ने गरेका छन् । जिल्लाभरिका हरेक वडामा एक/एक जना महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाका लागि खटाइएको छ । निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले निर्वाचन क्षेत्र नं. १ मा ३८ जना र क्षेत्र नं. २ मा ३७ जना गरी जिल्लाभरमा ७५ जना महिला स्वास्थ्य स्यवंसेविकालाई मतदाता शिक्षाका लागि खटाइएको बताउनुभयो । उहाँले निर्वाचनमा मतदान गर्न सहज होस् भनेर टोल, घर घरमा मतदातालाई शिक्षा दिन स्वयंसेविका खटाइएको बताउनुभयो ।
मतदाता शिक्षामा चुनाव चिह्नमा छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने र कसरी बाकसमा खसाल्ने जस्ता कुरा मतदाता शिक्षामा सिकाउने गरिन्छ । मतदाता शिक्षा दिँदा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिलगायतका लागि भएको सुविधाबारे समेत मतदाता शिक्षामा सिकाउने गरिएको छ । त्यसै गरी निराश भएर मतदान गर्न नचाहने मतदातालाई मतदानको महत्व बुझाई मतदान गर्न उत्प्रेरित गर्ने गरिएको छ ।
गुलरिया नगरपालिका–५ का महिला स्वास्थ्य स्वयंसेविका दुर्गा रावलले मतदाता जहाँ भेटिन्छन् त्यही मतदाता शिक्षा दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतबारी होस् कि काम गर्ने स्थान, विद्यालयमा र मानिस जम्मा हुने जुन ठाउँ भए पनि मतदाता शिक्षा दिने गरेकी छु ।” उहाँका अनुसार कतिपय स्थानमा बिहान र बेलुका मात्र मतदाता घरमा भेटिने गरेका छन् ।
निर्वाचन आयोगले मतदाता बढीभन्दा बढी मतदानमा सहभागी होऊन् र कमभन्दा कम सङ्ख्यामा मतपत्र बदर होस् भनेर मतदाता शिक्षा दिने गरेको छ । २०७९ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा बर्दियाको क्षेत्र नं. १ मा ६४ प्रतिशत मतदाताले मतदान गरेका थिए । जसमध्ये ६.१५ प्रतिशत मत बदर भएको थियो भने क्षेत्र नं. २ मा ६०.४१ प्रतिशत मतदाताले मतदान गरेका थिए जसमध्ये ५.८४ प्रतिशत मत बदर भएको थियो । २०७९ सालको निर्वाचनमा देशभरबाट पाँच प्रतिशत मत बदर भएको थियो ।