विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १५ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । प्रतिबद्धतापत्रमा सप्तरीमा आईटी पार्क, कल सेन्टर, कोडिंग आर्मी, एसेम्बली लाइन, एआई, मधेश स्पेश सेन्टर जस्ता जनमत पार्टीले ल्याएको परियोजनाहरुलाई कार्यान्वयनमा ल्याएर हजारौं युवाहरुलाई रोजगारी दिने उल्लेख गर्नुभएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा.राउतले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषयलाई प्रतिबद्धतापत्रमा समेटिनु भएको हो ।
विगतका अधुरा योजनाहरु पूरा गर्नुका साथै ‘ग्राम उद्योग भवन’ को निर्माण सम्पन्न गराएर ग्रामीण महिलाहरुलाई आफ्नै गाउँमा रोजगार प्रदान गर्ने, मधेश कृषि विश्वविद्यालयको निर्माण कार्य सम्पन्न गराउने, साक्षरता कार्यक्रम सञ्चालन गरी यस क्षेत्रलाई साक्षर बनाउने, क्षेत्रमा रहेका अस्पतालहरुको सेवा–प्रवाहलाई गुणस्तरीय बनाउने, सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्ने योजनाहरु प्रतिबद्धता पत्रमार्फत अगाडि सारिएको छ ।
यस्तै कुनौलीमा ड्राइपोर्ट निर्माण गरी कुनौली–राजविराज–रुपनी औद्योगिक कोरिडोर बनाएर अगाडि बढ्दै कृषिलाई उद्योगसँग जोड्ने, गजेन्द्रनाराण सिंह औद्योगिक क्षेत्रमा लगानीकर्ता र उद्यमीलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, कृषि विद्युतीकरणको योजनालाई कार्यान्वयन गर्दै खेत–खेतमा पानी पुग्ने गरी सिँचाइको समस्यालाई समाधान गर्ने, किसानको लखादमा सहज पहुँचका लागि पहल गर्ने, छिन्नमस्ता भगवती स्थलमा भौतिक पूर्वाधार निर्माण गरी पर्यटन अभिवृद्धि गर्ने, यस क्षेत्रमा रहेका खाँडो, जीता, मुतनी, घोडदह, भलुवाही आदि नदीबाट हुने भू–कटान तथा बाढीको नियन्त्रण गरिने प्रतिबद्धतापत्रमा भनिएको छ ।
आम मतदाता माझ यही प्रतिबद्धता लिएर भोट मागिरहेको डा. राउतले बताउनुभयो । उहाँले आफु विगतमा पनि जनताले चाहेको योजना अनुसार नै काम गरेको दावी गर्दै जनता उत्साहित रहेको विचार व्यक्त गर्नुभयो ।
२०७९ मा सप्तरी २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै डा. राउत निर्वाचित हुनुभएको थियो । यसपल्ट डा. राउत भने पुनः यसैक्षेत्रबाट दोहोरिएर उम्मेदवारी दिनुभएको छ भने जसपा नेपालका अध्यक्ष यादव सप्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ ।
एक लाख पाँच हजार नौ सय २२ मतदाता रहेको यसक्षेत्रमा नेपाली कांग्रेसबाट रामकुमार यादव, जसपा नेपालबाट उमेशकुमार यादव, नेकपा एमालेबाट मोहमद जियाउल रहमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यनाथ यादव, जनअधिकार पार्टीका अध्यक्ष शरदसिंह यादवसहित ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।