इलाम समाचारदाता
इलाम, फागुन १५ गते । चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवार आआफ्ना घोषणापत्र सार्वजनिक गर्दै मतदातामाझ पुगिरहेका छन् ।
दुुई निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक कसले विजय हासिल गर्ला त्यो त अनुमान लगाउन कठिन छ तर उम्मेदवारले आआफ्ना चुनावी घोषणापत्रमा स्थानीय मुद्दा समेटेर मतदाता लोभ्याइरहेका छन् । इलाम–२ मा नेकपा (एमाले) बाट का सुुहाङ नेम्वाङले ल्याएको स्थानीय घोषणापत्रमा जिल्लामा उत्पादित चियादेखि छुर्पी, अलैँचीलगायतका कृषि उपजको विश्व बजारीकरणको मुद्दा फरक देखिएको छ । २०८१ को उपनिर्वाचनबाट संसद्को १६ महिने यात्रा तय गरेका नेम्वाङले कृषि, पर्यटनसहित विपत्मा परेको इलामलाई पुनरूत्थानका लागि ल्याइएका मुद्दा मतदातामाझ अलि सान्दर्भिक बनेको देखिन्छ ।
मेची राजमार्गसहित नाम नै तोकिएर राखिएका ग्रामीण सकड, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्यका विषय घोषणापत्रमा समेट्दा मतदाता केही उत्साहित रहेको पाइन्छ तर घोषणापत्रबाहेक गाउँमा रहेका स्थानीय मुद्दा र विषय सुन्नुु पर्छ भन्ने मान्यता राख्ने सुहाङलाई सुनाउन पाउँदा पनि मतदाता निकै खुुसी भएको महसुस गर्ने गरेका छन् । “उपनिर्वाचनमा पनि भोट हाल्याँै, जितायौँ तर उसले काम गर्नै पाएन,” इलाम–२ सुुम्बेककी मतदाता गङ्गा विश्वकर्माले भन्नुुभयो, “हामीलाई आश्वासन होइन, गाउँलाई सहर जोड्ने भरपर्दो सडक, कृषि उत्पादनको बजार र राम्रो मूल्य चाहिएको छ ।”
इलाममा निकै महìवका साथ हेरिएको इलाम–२ मा कांग्रेसबाट उम्मेदवार बनेका भेषराज आचार्यले पनि आफ्नो प्रतिबद्धतापत्रमा सार्वजनिक गर्नुभएको छ । भरपर्दो मेची राजमार्गको पुनर्निर्माण र दिगो व्यवस्थापन, पर्यटन, कृषि पर्यटन, वन्यजन्तुुबाट हुने क्षतिको आकलन गरी वैकल्पिक खेती, चिया श्रमिकका लागि समान ज्यालाको व्यवस्था, इलाममा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण, भूूमिहीन तथा सुकुमवासीलाई भूमिको दीर्घकालीन समाधानलगायतका विषयलाई प्रतिबद्धतापत्रमा समेटिएको छ तर जिल्लाका ग्रमीण सडकलाई भने आचार्यको प्रतिबद्धतापत्रमा प्राथमिकता दिइएको छैन ।
एमाले, कांग्रेसबाहेक अन्य नयाँ र पुराना दलले पनि आआफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नयाँ दलका रूपमा आएको उज्यालो नेपाल पार्टीका दिवस राईले ग्रामीण सडक धुुलो हिलोमुक्त, ज्येष्ठ नागरिकलाई सम्मान, युवा विद्यार्थी देशमै अवसर र न्याय, पशुपन्छी अधिकार र संरक्षण, ढोकासम्म सेवा घर घरमै सुविधा जस्ता विषयलाई प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ । नेपाली कम्युुनिस्ट पार्टीका इलाम–२ का उम्मेदवार ओमबहादुर गुुरुङले पनि आफ्नो घोषणापत्रमा किसान र कृषिलाई प्राथमिकता दिनुुभएको छ । बिउबिजन अनुुदान, कृषि उत्पादनको ब्रान्डिङ तथा बजारीकरण, साझा सहकार्य, संवादमार्फत सामाजिक न्यायको नयाँ अध्ययय सुुरु गरिने जस्ता बुुँदा गुुरुङको घोषणापत्रमा उल्लेख गरिएको छ ।
यता इलाम–२ को २०८१ सालको उपनिर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, यस पटक जेन्जी आन्दोलनपछि उदाएका श्रम संस्कृति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतका दलले पनि जिल्लामा मतदाता भेटघाटका कार्यक्रम गरिरहेका छन् ।