• १५ फागुन २०८२, शुक्रबार

कालीकोटमा पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक

blog

जिल्ला सुरक्षा समितिको बैठकपछि सुरक्षा निकायका प्रमुखहरू सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 
कालीकोट, फागुन १५ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थको खुला बिक्री–वितरणमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रचलित कानुनबमोजिम जारी सार्वजनिक सूचनाअनुसार निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री–वितरण गर्न रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माद्वारा हस्ताक्षरित सूचनामा इन्धन बिक्री गर्ने सबै पेट्रोल पम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने उल्लेख छ । दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने सूचनामार्फत स्पष्ट पारिएको छ ।

त्यसैगरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारी साधनलगायत अत्यावश्यक सेवामा संलग्न सवारी साधनलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइने जनाइएको छ ।

उक्त व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा नेपाल आयल निगमको समन्वयमा नियमित तथा आकस्मिक अनुगमन गरिने सूचनामा उल्लेख छ । सुरक्षा समितिको निर्णय उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना, इजाजतपत्र निलम्बन वा खारेजसहित आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले सबै पेट्रोल व्यवसायी, ढुवानी व्यवसायी तथा सर्वसाधारणलाई निर्णय अनिवार्य रूपमा पालना गर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रशासन वा सुरक्षा निकायमा जानकारी गराउन आग्रह गरेको छ ।