• १५ फागुन २०८२, शुक्रबार

निर्वाचनमा हाम्रो दायित्व

blog

अबको केही दिन अर्थात् आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुँदै छ । यसमा आममतदाताले मतदान गरी निर्वाचनमा सहभागिता जनाउनु पर्छ । अन्य नागरिकले पनि निर्वाचनको महाअभियानमा सघाउनु पर्छ । लोकतन्त्रमा मुलुकको सार्वभौमसत्ता आमजनतामा निहित हुन्छ । यिनै मतदातारूपी जनताले निर्वाचनको माध्यमद्वारा प्रतिनिधि सभामा रहने सदस्यको छनोट गर्छन् । पाँच वर्षका लागि मुलुकको कानुन निर्माण गर्ने र शासन सञ्चालन गर्ने जिम्मेवारी सुम्पिन्छन् । आमनिर्वाचन लोकतन्त्रको प्रवर्धन र संरक्षण गर्ने एउटा महाअभियान हो । 

आगामी निर्वाचन गराउने जिम्मेवारी निर्वाचन आयोगको काँधमा छ । यो स्वतन्त्र संवैधानिक निकाय हो । यो सरकार मातहतको निकाय होइन । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउँछ । अठार वर्ष उमेर पुगेका आमनेपाली नागरिक एवं मतदाताले निर्वाचन आयोगले सम्पन्न गराउने निर्वाचनमा सहभागी भई नागरिकको कर्तव्य पालना गर्नु पर्छ । निर्वाचन आयोगको मुख्यालय काठमाडौँमा छ । सातै वटा प्रदेश र ७७ जिल्लामा यसका कार्यालय छन् । आफूलाई दुविधा भएको विषयमा ती कार्यालयमा सम्पर्क राख्न सकिन्छ । आयोगले सञ्चालन गरेको कल सेन्टर र आयोगको वेबसाइटबाट पनि भरपूर सूचना हासिल गर्न सकिन्छ । लोकतन्त्रको प्राण वायुका रूपमा रहेको सूचनाको हकको उपयोग गरी आममतदाता अनावश्यक अफवाहमा नपरी आगामी निर्वाचनका लागि पूर्णतः आश्वस्त र ढुक्क हुनु पर्छ । 

फागुन २१ गते प्रतिनिधि सभाका २७५ जना सदस्य छनोटका लागि निर्वाचन हुँदै छ । यसमा ७७ जिल्लाबाट १६५ जना प्रत्यक्ष रूपमा निर्वाचित हुन्छन् । यसै गरी ११० जना समानुपातिक निर्वाचनबाट निर्वाचित हुने कानुनी व्यवस्था छ । यसरी हामी मतदाताले एकै पटक प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्रमा आफ्नो मत हाल्नु पर्छ । प्रत्यक्षतर्फको मतदानबाट सर्वाधिक मत ल्याउने उम्मेदवार विजयी हुन्छन् । समानुपातिकतर्फ राजनीतिक दलको चुनाव चिह्नमा मत खसाएपछि सोको राष्ट्रियस्तरमा मत गणना भई मतसङ्ख्याको आधारमा समानुपातिकतर्फका उम्मेदवार निर्वाचित हुन्छन् । हामी मतदाताले एउटा मतपत्रमा प्रत्यक्षतर्फ मतदान गरी आफूले मतदान गरेको उम्मेदवार विजयी वा पराजित भए भनी मत गणनापछि जानकारी पाउँछौँ । समानुपातिकतर्फको मतदानबाट कुन उम्मेदवार विजयी भए वा कुन उम्मेदवार पराजित भए हामी मतदातालाई प्रत्यक्ष जानकारी हुँदैन । निर्वाचनपछि निर्वाचन आयोगले कुन दलबाट को को समानुपातिक उम्मेदवार कुन कुन क्लस्टरबाट विजयी भए भनी जानकारी गराउँछ । यसरी प्रत्यक्ष निर्वाचनबाट हामी मतदाताले व्यक्तिको छनोट गर्दछौँ भने समानुपातिक मतदानबाट राजनीतिक दलको छनोट गर्दछौँ भनी हेक्का राख्नु पर्छ ।

निर्वाचन आचारसंहिताले नेपालमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा भ्रामक विज्ञापन गर्न रोक लगाइएको छ । स्वच्छ, मर्यादित र विश्वनीय निर्वाचनका लागि सबै नेपालीले आआफ्नो स्थानबाट सहयोग गर्नु पर्छ । कसैलाई होच्याउने र भ्रम सिर्जना गर्ने काम गर्नु हुँदैन । आममतदाता निर्वाचनमा मतदान गर्न सक्रिय हुनु पर्छ । नेपालको प्रचलित कानुन अनुसार नागरिकताको प्रमाणपत्र भएको व्यक्ति १८ वर्ष पूरा भएपछि निर्वाचन आयोगको प्रक्रिया अनुसार मतदाता नामावलीमा सूचीकृत हुनु पर्छ । यसपछि आफ्नो फोटोसहितको मतदाता परिचयपत्र बन्छ । आगामी फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न जाँदा सोही परिचयपत्र लिएर जानु पर्छ । 

सामान्यतः मतदान गर्न जादा नागरिक्ताको प्रमाणपत्र, जग्गाको लालपुर्जा, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी लिएर जानु पर्दैन । निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र भए पुग्छ । मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कारणवश मतदाता परिचयपत्र फेला नपरेको अवस्थामा भने माथिका पाँच वटामध्ये कुनै एउटा कागजातको सक्कलै लिएर जाँदा मतदान गर्न पाइने व्यवस्था छ । यस्ता कुराको जानकारीका लागि निर्वाचन आयोगले मतदाता जागरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा सहभागी भई निर्वाचनसम्बन्धी अधिक जानकारी हासिल गर्नु पर्छ । निर्वाचन आयोगको वेबसाइटबाट पनि आवश्यक सूचना सङ्कलन गर्न सकिन्छ । लोकतन्त्रमा आफ्नो अधिकारको उपयोगका लागि सुसूचित हुन पाउनु आमनागरिकको नैसर्गिक अधिकार हो । 

आगामी फागुन २१ गते अर्थात् निर्वाचनको दिन सवारीसाधन प्रयोग गर्न पाइन्न । निर्वाचनसम्बन्धी काममा विदेशी नम्बर प्लेटको सवारीसाधनको प्रयोग पनि गर्नु हुँदैन । एक जना उम्मेदवारले मतदानको दिन अनुमति लिएर अधिकतम दुइटासम्म सवारीसाधन वा चार वटासम्म घोडा प्रयोग गर्न पाइने आचारसंहितको व्यवस्था छ । मतदान हुने दिन सार्वजनिक यातायात सञ्चालन हुँदैन । आफ्नो मतदान केन्द्र कहाँ परेको छ भनी मतदान हुनु २।४ दिन पहिल्यै जानकारीमा राख्नु पर्छ । एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दुध ढुवानी, शव वाहन, अस्पताल सेवा, दूरसञ्चार, विद्युत सेवा जस्ता अत्यावश्यक सवारीसाधन र कूटनीतिक नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा भने अनुमति लिनु पर्दैन । यी सवारीसाधनको दुरुपयोग गर्न भने निषेध छ । 

आगामी फागुन २१ गते मतदान गर्ने समय बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने छ । समयमै मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नु पर्छ । त्यहाँ सर्वप्रथम आफ्नो नाम भिडाउनु पर्छ । महिला र पुरुषको लाइन भिन्दाभिन्दै हुन्छ । सामान्यतः जुनसुकै मतदाताले पनि लाइनको प्रयोग गर्नु पर्छ । मतदान स्थलमा प्रवेश गर्ने द्वार र बाहिरिने ढोका फरक हुन्छ । मतदान केन्द्रको वरिपरि होहल्ला गर्न निषेध हुन्छ । मतदान गरिसकेपछि निवासमै फर्किनु पर्छ । मतदान गर्नुपूर्व औँलामा मसी लगाएर मतपत्र प्राप्त हुन्छ । सो मतपत्रमा निर्वाचन आयोगले दिएको स्वस्तिक छाप लगाउनु पर्छ । सो बखत मसी लतपत नहुने गरी छाप लगाउनु पर्छ र मतपत्र पट्याए बाकसमा खसाल्नु पर्छ । आफूले मतदान गरेको कसैले पनि देख्दैनन् । त्यहाँ सिसी क्यामरा जडान भएको हँुदैन । मतपत्र भने सबैले देख्ने गरी बाकसमा खसाल्नु पर्छ । यी सबै कार्यको फोटो खिच्न निषेध हुन्छ । मतदानस्थलमा मतदाता परिचयको अलावा अन्य मोबाइल फोनलगायतका अनावश्यक सामग्री साथमा लिएर जानु हुँदैन । सबैले आफ्नो अमूल्य मतको सदुपयोग गर्नु पर्छ । 

हरेक मतदान केन्द्रमा पूर्णतः सुरक्षा प्रदान गरिएको हुन्छ । त्यहाँ स्वयंसेवक खटिएका हुन्छन् । उम्मेदवारका प्रतिनिधि पनि हुन्छन् । निर्वाचनमा खटिएका कर्मचारीसमेत हुने हुँदा आवश्यक सहयोग लिन सकिन्छ । निर्वाचनमा कुन उम्मेदवार र राजनीतिक दल छान्ने भन्ने आफ्नो नैसर्गिक अधिकार हो । यसमा विवेक पु¥याएर मतदान गर्नु पर्छ । मतपत्रमा स्वस्तिक चिह्न प्रयोग गर्दा हडबड नगरी समय लिनु पर्छ । यसमा कुनै समय सीमा तोकिएको छैन । मतदान गरेपछि वा गर्नुअघि आफन्त वा चिनजानका व्यक्तिसँग मतदानका विषयमा छलफल गर्न सकिन्छ । मेरो मत यस उम्मेदवारमा जान्छ वा यस उम्मेदवारलाई मतदान गरे भनी सार्वजनिक रूपमा प्रकट गर्नु हुँदैन । यो गोप्य मतदान हो । कसैले मैले यसमा भोट हाले भने पनि सो पुष्टि गर्ने आधार कसैसँग पनि हँुदैन । कारण स्वस्तिक चिह्न प्रयोग गरेको मतपत्र सार्वजनिक गर्न पाइन्न । मतपत्रमा स्वस्तिक चिह्न हानेपछि सोको फोटो खिच्न निषेध छ । यी सबै कुरा आचारसंहिताभित्र पर्छन् । 

आममतदाताले संविधान र कानुन एवं असल नागरिकको कर्तव्य अनुरूप मतदान गर्न जानु पर्छ । यसअघि उम्मेदवार वा राजनीतिक दलको घोषणापत्र अध्ययन गर्नु पर्छ । नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली जनताको काँधमा सुम्पिएको छ । यो भनेको आफ्नो शासन आफँैद्वारा आफैँलाई गर्ने हो । यस खातिर प्रतिनिधि सभालगायतको निर्वाचन हुन्छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुँदै छ । सो प्रतिनिधि सभाबाट प्रधानमन्त्रीको नियुक्ति लागि मतदान हुन्छ । यसरी मुलुकको शासन सञ्चालनको जिम्मेवारी लिने जनप्रतिनिधिको छनोटमा हामी सबै सहभागी हुनु पर्छ । यो नागरिकको कर्तव्य हो । यस्तो पुनित कार्य गर्ने क्षणमा अमर्यादित भाषाको प्रयोग वा घृणाजन्य अभिव्यक्तिमाथि पूर्णत रोक लगाइएको छ । सबैले यसको पालना गर्नु पर्छ । 

सामान्यतः निर्वाचनका बखत फजुल खर्च हुने गरेको छ । बढी खपत हुँदा खोजेको बखत आवश्यक सामान नपाइन सक्छ । यसमा सर्वसाधारण सजग हुनु पर्छ । राजनीतिक दल र उम्मेदवारको गतिविधिले घरभाडा वृद्धि हुन्छ । निर्वाचनको मुखमा अनावश्यक भ्रमण गर्दा यातायातको भाडादर महँगो हुन सक्छ । यस बखत होटलका कोठा, रेस्टुरेन्ट र मोटर भाडा पनि महँगिन्छ । यसर्थ, आन्तरिक पर्यटनमा निस्किँदा यी कुराको पनि ख्याल गर्नु पर्छ । 

निर्वाचनको समयमा खाना, खाजा, माछा, मासु, खाद्य सामग्रीको खपत पनि बढ्छ । माग र आपूर्तिको सामन्जस्यता नमिल्दा केही मूल्य वृद्धि हुन सक्छ । यस्ता घरायसी खपतका सामानको पनि समयमै जोहो गर्नु बुद्धिमानी हुने छ । यस बखत तुल, कपडा, ल्फ्रेक्स, पर्चा, पोस्टर, पम्पलेट कागज, छपाइ, मुद्रण, विज्ञापन, होडिङ बोर्डको खपत पनि बढी नै हुन्छ । निर्वाचनकै मुखमा पर्ने गरी सङ्घ संस्थाले कार्यक्रम नगर्नु नै उचित हुन्छ । कैयाैँ सरकारी कार्यक्रम आचारसंहितको कारण गर्न नपाइने पनि हुन्छ । विशेष गरी निर्वाचनको समयमा मदिरा, चुरोट, लोकल रक्सी, जाडलगायतको पनि बढी नै खपत हुने गरेको छ । सामान्यतः सकिएमा यस्ता वस्तुको सेवन र उपयोग त्याग्नु नै उत्तम हुने छ । मतदानको मौन अवधिलगायतमा मदिरा पसल सञ्चालनमा रोक लाग्छ । जे होस्, निर्वाचनमा शान्ति, सुव्यवस्था कायम गर्न आमनेपालीले सघाउनु पर्छ । 

फागुन २१ गते प्रतिनिधि सभामा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोग र सरकारले विशेष पहल गरिरहेको छ । यसमा सघाउनु आमनागरिकको कर्तव्य हो । लोकतन्त्रको प्राण नै निर्वाचन हो । यसलाई संरक्षण गर्ने जिम्मेवारी आममतदाताको भएकाले निर्वाचनमा आमनेपालीले मन, वचन र कर्मले यस महाअभियानलाई सफल पार्न सार्वजनिक अपिल गर्दछु ।