गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विशेष कक्षा सुरु गरेको छ ।
पहिलो चरणमा छ वटा विद्यालयमा यस्तो कक्षा सुरुवात गरिएको महानगरपालिकाले जनाएको छ । गत वर्षहरूमा लिइएको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । कुल ११ वटा विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गर्ने योजना महानगरपालिकाको छ ।
यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुह्येश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षा आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइने छ । विषयविज्ञ, स्रोत शिक्षक, सेवानिवृत्त शिक्षकले पढाउने छन् ।
न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्रि माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुने छन् । यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइने छ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिने छ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो ।
महानगरपालिकाका शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार यस वर्ष महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइईमा सहभागी हुने छन् ।
पछिल्ला वर्ष महानगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयको पढाइको स्तर सुधार्न पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याएको छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाइ पेडागोजीमा सुधार, असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि योगदान गर्ने कार्यक्रम हुन् । २०८१ को एसइईमा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए ।