• १४ फागुन २०८२, बिहिबार

नेपालगन्जका मुस्लिम महिलालाई मतदाता शिक्षा

blog

मतदाता शिक्षा कार्यक्रममा नमुना मतदानमा सहभागी मुस्लिम महिलाहरू । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज फागुन १४ गते । मुस्लिम समुदायको बाक्लो जनसङ्ख्या रहेको नेपालगन्जका विभिन्न क्षेत्रका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ । 

मतदाता शिक्षाको अभावमा मुस्लिम समुदायका महिलाहरूको मत बढी बदर हुने गरेको पाइएपछि महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज–२१, बिर्तागाउँका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरेको हो । 

फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । 

उहाँले नेपालगन्ज उपमहानगरमा पछि थपिएका अधिकांश वडाहरू ग्रामिण क्षेत्रमा पर्ने भएकोले ती क्षेत्रका मुस्लिम महिलालाई लक्षित गरेर मतदाता शिक्षा प्रदान गरिएको र सो शिक्षा अन्तर्गत उनीहरूलाई मतदान गर्ने तरिका सिकाउँदै नमुना मतदान समेत गराइएको बताउनुभयो । 

मतदाता शिक्षा कार्यक्रममा सहभागी अधिकांश मुस्लिम महिलाले विभिन्न निर्वाचनमा भाग लिए पनि अहिलेसम्म मतदान बारे राम्रो ज्ञान नभएकोले मत बदर हुने गरेको जनाउँदै यस पटक राम्ररी सिक्न पाएको बताउनुभयो । 

कार्यक्रममा सहभागी नेपालगन्ज २१ का स्थानीय महिला जमिला खानले भन्नुभयो, ‘हामी पढे लेखेका छैनौ मतदान गर्ने बेला नजानेर मत बिग्रिन्छ र मत बदर हुन्छ, मतदानबारे हामीलाई अहिले मात्र नभई अरू समयमा पनि सिकाउन जरुरी छ ।’ 

उहाँले चुनावको बेला राजनीतिक दल र उम्मेदवार सबै मत माग्न आउने तर मतदान गर्ने बारे कसैले पनि नसिकाउने गर्दा समस्या रहेको बताउनुभयो। 

मतदाता कार्यक्रममा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुराहरूलगायतका बारेमा रविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरूलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । 

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको सङ्ख्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष तिवारीले बताउनुभयो । सो कार्यक्रममा उक्त क्षेत्रका अधिकांश मुस्लिम महिलाहरूको सहभागिता रहेको थियो ।