• १४ फागुन २०८२, बिहिबार

१२ मतदान स्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा पारिँदै

blog

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, फागुन १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाका १२ वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना अघि सारेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार कुल १२२ मतदान स्थलमध्ये निर्वाचन क्षेत्र नं १ का ८ र क्षेत्र नं। २ का ४ वटा स्थललाई अति संवेदनशील मानिएको छ। विशेषगरी भारतीय सीमासँग जोडिएका क्षेत्रका मतदान स्थलहरूलाई सुरक्षाको दृष्टिले उच्च प्राथमिकतामा राखिएको छ।

प्रहरीका अनुसार जिल्लाभरका मतदान स्थलहरूलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जस अनुसार अति संवेदनशील: १२ (क्षेत्र नं १ मा ८, क्षेत्र नं २ मा ४) संवेदनशील: ५७ (क्षेत्र नं १ मा २), क्षेत्र नं २ मा २८० र सामान्य: ५३ (क्षेत्र नं १ मा २५, क्षेत्र नं २ मा २८) रहेका छन् ।

जिल्लाभर कुल २९७ मतदान केन्द्रहरू तोकिएका छन्। जसमा क्षेत्र नं १ मा १४८ र क्षेत्र नं २ मा १४९ केन्द्रहरू रहनेछन्। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने एसपी श्रेष्ठले बताउनुभयो। सुरक्षाका लागि नेपाल प्रहरीबाट करिब ८०० जना म्यादी प्रहरी १,५०४ जना र सशस्त्र प्रहरी १९९ जना खटिने छन्।

एसपी श्रेष्ठले भन्नुभयो, "हामीले सुरक्षा निगरानीलाई कडा बनाएका छौँ। मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गर्न अति संवेदनशील क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिनेछ।"

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार यस पटक पश्चिम नवलपरासीमा कुल २ लाख ५४ हजार १५७ मतदाता रहेका छन्। जसमा १ लाख २९ हजार १८३ पुरुष, १ लाख २४ हजार ९७० महिला र ४ जना अन्य मतदाता छन्। निर्वाचन क्षेत्र नं। १ मा १ लाख २३ हजार ८० र क्षेत्र नं। २ मा १ लाख ३१ हजार ७७ मतदाता रहेका छन्।