• १५ फागुन २०८२, शुक्रबार

तुलसीपुरमा अनुसन्धानात्मक राष्ट्रिय सम्मेलन हुने

blog

अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलनका बारेमा जानकारी गराउँदै क्याम्पस प्रमुखलगायत । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन १४ गते ।
दाङको तुलसीपुरमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ । दाङको शैक्षिकस्तरलाई अनुसन्धानमुखी बनाउन राप्ती बबई क्याम्पस तुलसीपुरको आयोजनामा आगामी चैत ६ र ७ गते दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुने भएको हो ।

राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा ठुलो उपलब्धि हुन नसकिरहेको अवस्थामा क्याम्पसले दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभयो ।  

क्याम्पस प्रमुख पार्धेका अनुसार सम्मेलनमा काठमाडौँ, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताको सहभागिता रहने भएको छ । अनुसन्धानमूलक सम्मेलनले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ । क्याम्पसका उपप्राध्यापक तथा सम्मेलनका सहसंयोजक सूर्यप्रसाद शर्माले एमफिल र पिएचडी गर्न चाहने तथा अध्ययन बाहेक अनुसन्धानात्मक लेख लेख्ने व्यक्तिका लागि यस सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँका अनुसार शिक्षा प्रणालीमा नवप्रवर्तन, वर्तमान शैक्षिक विधिहरूमा नयाँपन र सुधारका लागि क्याम्पसले प्रथम अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभयो ।

सम्मेलनमा एक सयभन्दा बढी सहभागी हुनेछन् । शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अङ्ग्रेजी भाषालगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेका विद्यार्थी सहभागी हुन पाउनेछन् । दाङलाई शैक्षिक हब बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ । सम्मेलनमा बाह्य जिल्लाबाट आउने सहभागीका लागि आवाससहितको सुविधासमेत रहेको छ ।

क्याम्पसले आगामी दिनमा नयाँ विषयहरू बिआइटी, बिआइसिटी जस्ता विषय अध्यापन गराउने तयारी गरिरहेको अवस्थामा अनुसन्धानमूलक गोष्ठीले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख पार्धेले बताउनुभएको छ ।  सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा देवराज अधिकारीले गर्नुहुने छ ।