• १३ फागुन २०८२, बुधबार

कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको छ : विमलेन्द्र निधि

blog

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि

जनकपुरधाम, फागुन १३ गते । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले मुलुकलाई सही दिशामा अगाडि बढाएको बताउनु भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएका नेता निधिले कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको चर्चा गर्नुभयो ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनुभयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ ।” 

उहाँले थप्दै भन्नुभयो, “हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा ऊर्जा देखिएको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । यसले राम्रो प्रभाव पारेको छ ।”

उहाँले अहिले नेपाली कांग्रेसमा देशभर एकता रहेको दाबी समेत गर्नुभयो । नेता निधिले भन्नुभयो, “एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ । कांग्रेसका उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन्, यी सबैका आधारमा म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ । बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।”

उहाँले पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई आफैँले पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको उल्लेख गर्नुभयो । “आन्तरिक मतभेदलाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु, जसमा सफलता पनि पाएको छु,” निधिले बताउनुभयो ।

नेता निधिले अहिले देशमा निर्वाचित सरकार नहुँदा लोकतन्त्र शिथिल भएको र राजनीतिक प्रणाली अवरुद्ध भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले देशमा निर्वाचित सरकार र निर्वाचित संसद् छैन । संविधान गतिरोधमा परेको छ । अहिले नेपाली कांग्रेसले नै यसको सही उपचार दिन सक्छ भन्ने भावना छ । यो सकारात्मक आधार हो, जसका कारण नेपाली कांग्रेसलाई जिताउनुपर्छ भन्ने जनताको मत छ ।”

प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनका सवालमा काम गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अब हामीले आधुनिक प्रणालीलाई विकास गर्नुपर्छ । डिजिटल गभर्नेन्स सिस्टम अर्थात् ई-गभर्नेन्स सिस्टमलाई अघि बढाउनुपर्छ । यो सिस्टमले भ्रष्टाचारको न्यूनीकरण, पारदर्शिता र सुशासनको कुरा सम्बोधन हुन्छ । यो व्यवस्थालाई तीनवटै तह— स्थानीय, प्रादेशिक र सङ्घीय तहमा लैजानुपर्छ ।”

सो व्यवस्थालाई सरकारी मात्र नभएर गैरसरकारी क्षेत्रमा पनि लागू गराइनुपर्नेमा उहाँले जोड दिनुभयो । 

निधिले भन्नुभयो, “यो सिस्टमले पाँच दिन लाग्ने काम पाँचै दिनमा र पाँच घण्टामा हुने काम पाँचै घण्टामा हुन्छ । लाइसेन्सका लागि फाराम भर्नुपर्ने अहिलेको प्राविधिक जटिलता हट्छ । नागरिकता पाउन एक घण्टा लाग्छ भने एक घण्टामा नै पाइसक्नुपर्‍यो । यस्तो बाटोमा ई-गभर्नेन्स सिस्टमबाट काम गर्न सकिन्छ ।”

कांग्रेसले नै अहिलेसम्म जनताको अधिकार र विकासका लागि काम गरेको दाबी गर्दै उहाँले भन्नुभयो, “प्रत्येक मानिसलाई अधिकार र विकास गरी दुई कुरा चाहिन्छ । बिपी कोइरालाको समयदेखि अहिलेसम्म यी दुवै क्षेत्रमा कांग्रेसले नै काम गरेको छ । त्यसैले जसले काम गरेको छ, भोलिका दिनमा उसैले काम गर्न सक्छ भन्ने भरोसा राख्नुपर्दछ ।”

उहाँले नयाँ चालकले गाडीलाई जतिबेला पनि दुर्घटना गराउन सक्ने भन्दै अनुभवी पार्टी नेपाली कांग्रेसका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जसले काम गरेर देखाएकै छैन र कामको कुनै अनुभव छैन, उसले नयाँ काम गर्छु भन्दैमा भरोसा गर्ने ठाउँ छैन । नयाँ चालकले त जतिबेला पनि दुर्घटना गराइदिन सक्छ । त्यसकारण कांग्रेसको रूख छापमा नै मत दिन म मतदातालाई आग्रह गर्दछु।”

उहाँले नेपाललाई सुन्दर र शान्त बनाउन, अपराध नियन्त्रण गर्न तथा सुशासन र समावेशितासहितको सङ्घीय लोकतान्त्रिक प्रणालीलाई कार्यान्वयन गर्न कांग्रेसको जित आवश्यक रहेको बताउनुभयो । उहाँले थप्नु भयो, “नेपाली कांग्रेसले अरू दलहरूसँग निर्भर भएर सरकार बनायो भने डेलिभरी दिन सक्दैन । त्यसकारण कांग्रेसको एकल बहुमत पुर्‍याउने गरी मतदान गर्न मेरो आग्रह छ ।”

नेता निधिले आफू धनुषा ३ बाट उम्मेदवार हुँदा राष्ट्रिय राजनीतिका मुख्य एजेन्डादेखि स्थानीय मुद्दालाई समेटेर चुनावी एजेन्डा बनाएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा संविधानलाई लिकमा ल्याउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल कार्यान्वयन गर्ने विषय मूल रहेको बताउनुभयो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रका लागि ग्रामीण क्षेत्रमा तीनवटा प्रसूति अस्पताल र तीनवटा बाल अस्पताल बनाउने योजना रहेको सुनाउनुभयो । साथै, युवाहरूको रोजगारीका लागि लगानीकर्ताहरूलाई आमन्त्रित गरेर सुरक्षित रूपमा उद्योग र व्यवसायमा लगानी गर्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

नेपालमा मल कारखाना नहुँदा कृषि क्षेत्रले समस्या भोगेको भन्दै उहाँले जिल्लामा लगानीकर्ता ल्याएर मल कारखाना खोल्ने विषयमा सरसल्लाह भइरहेको बताउनुभयो । जनकपुर धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण स्थान रहेको चर्चा गर्दै उहाँले रामजानकी रङ्गशाला निर्माण गरी स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।

आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेको र जेलनेल भोगेकाले जनताले आफूलाई उपयुक्त पात्रका रूपमा माया र आशीर्वाद दिएको उहाँले बताउनुभयो । उहाँले मधेस प्रदेशको राजधानी जनकपुर बनाउन, राजर्षि जनक विश्वविद्यालय स्थापना गर्न र ढल्केबर–जनकपुर ६ लेनको बाटो निर्माणमा आफ्नो निर्णायक योगदान रहेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाभरका गाउँ जोड्ने बाटोघाटो, पुलपुलेसा, रेल सेवा, हवाई सेवा र अयोध्या–जनकपुर कनेक्टिभिटीका कामहरू जनताको भविष्यको उन्नतिसँग सरोकार राख्छन् । यसमा मैले गरेका कामको चर्चा र तुलना सबैले गर्ने गरेका छन् ।”