रामकृष्ण बोहरा
बागलुङ, फागुन १३ गते । सामाजिक कार्यमा सक्रिय रोटरी क्लब अफ बागलुङ, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी डिस्ट्रिक ३२९२ को संयुक्त पहलमा बागलुङ नगरपालिका–७, तितौरे माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि तथा उनीहरूलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले ११ थान कम्प्युटरसहितको आधुनिक ल्याब स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
ल्याबले विद्यार्थीको कम्प्युटर शिक्षा तथा डिजिटल सीप विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै डिस्ट्रिक गर्भनर विनोद कोइरालाले कम्प्युटर ल्याब प्रयोगमा आउँदा विद्यार्थीलाई कम्प्युटरसम्बन्धि ज्ञान लिन सहज हुने बताउनुभयो ।
दक्ष जनशक्तिको अभावले कतिपय विद्यालयमा कम्प्युटर थन्क्याएर राख्नुपर्ने अवस्था आएकाले ल्याबको अधिकतम् प्रयोग गर्ने विद्यालय प्रशासनलाई उहाँले आग्रह गर्नुभयो ।
झण्डै ८ लाख रुपियाँको लागतमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । कार्यक्रममा रोटरीका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास तथा सूचना प्रविधिमा पहुँच विस्तार गर्नु रोटरीको प्रमुख प्राथमिकता रहेको बताउँदै आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाल सरकारले कक्षा ६ देखि १० सम्म अनिवार्य रूपमा विज्ञान तथा प्राविधिक शिक्षाका रूपमा विकास गरेपछि कम्प्युटर शिक्षा प्रयोगमा आउन थालेको छ । अर्कोतर्फ ऐच्छिक विषयका रूपमा कक्षा ९ र १० का लागि कम्प्युटर शिक्षासमेत समावेश गरेकाले कतिपय सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रयोगमा आउन थालेको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र कार्कीले कम्प्युटर ल्याब स्थापनापछि विद्यार्थी उत्साहित भएको बताउनुभयो । उहाँले दक्ष जनशक्तिको व्यवस्थापन गरेर ल्याब प्रयोगमा ल्याउने प्रतिबद्वता जनाउँदै महत्त्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।