मुक्तिनाथ (मुस्ताङ), फागुन १३ गते । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुस्ताङमा उम्मेदवारी दिएका सबै उम्मेदवार आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन सक्रिय छन् ।
मुस्ताङका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सुरू गरेपछि चुनावी चहलपहल बढेको छ । गएको माघ ६ गते मनोनयदर्ता पछि एक महिना सुनसान बस्तीमा अहिले उम्मेदवारहरू गाउँटोल पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् ।
जाडो छल्न जिल्ला बाहिर गएका मतदाता फर्किन थालेका छन् । लामो समयसम्म आफ्नी दिदीको उपचारका लागि भारतमा बसेर फर्किनुभएका नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले घरदैलो अभियान सुरू गर्नुभएको छ ।
निवर्तमान प्रतिनिधिसभा सदस्यका उम्मेदवार गौचनले मतदातालाई अपूरो योजनाको पूर्णतासहित आफ्नो कार्यकालमा भएका विकास निर्माणसहितका कार्यहरू सुनाइरहनुभएको छ । उम्मेदवार गौचनले भन्नुभयो, ‘‘मैले पाँच वर्षका लागि मत मागेर संसदमा पुगेको थिए, मैले गरेका प्रयासहरूका बारेमा मतदाता प्रष्ट हुनुहुन्छ ।’’
उम्मेदवार गौचनले कोरला नाकामा भौतिक पूर्वाधार, अन्तरदेशीय सहज आवत–जावत, सडक, कृषि, पर्यटन तथा जलवायु परिवर्तनका कारण स्थानीयले भाोग्नुपरेको समस्यालाई चुनावी एजेन्डा बनाएका छन् ।
नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा डाढु विष्टले उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको जोमसोम–कोरलाको एक सय १० किलोमिटर सडक खण्डको बाँकी कालोपत्रेको ढिलासुस्तीलाई हटाउने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै, लोमान्थाङ दरबारलाई विश्व सम्पदासूचीमा सूचिकृत, जलवायु सङ्कट, धार्मिक र पर्यटनका लागि कोरला नाकाबाट तिब्वत यात्रालाई सहज तथा लोमान्थाङ गाउँपालिका-५, लोमान्थाङको लोवथाङको गल्फ कोर्सलाई वल्ड रेकर्ड कायम गराउने, विदेशी पर्यटकलाई लिने शुल्क मिनाह तथा उपल्लो मुस्ताङमा रहेको निषेधित क्षेत्र हटाएर पर्यटकको आगमनलाई सहज बनाउन लगायतका प्रतिबद्धतासहित एक सातादेखि मतदाताको घरदैलोमा पुग्नुभएको छ ।
विष्टले भन्नुभयो, ‘‘जनप्रतिनिधि नहुँदा पनि जिल्लाका लागि काम गरेको छु, मैले सम्रग मुस्ताङलाई जोड्नेगरी उम्मेदवारी दिएको छु ।’’ मुस्ताङ कृषि, पर्यटन, पशुपालनसँगै साहासिक पर्यटनका लागि समेत विश्वको उत्कृष्ट स्थान बनाउने गरी काम गर्ने विष्टको भनाइ छ ।
‘‘विपन्न समुदायलाई धनी बनाउने योजनासहित मतदाताको घरदैलोमा छु, सम्भावना भएको क्षेत्रमा लगानी, आत्मनिर्भरसहित आर्थिक समृद्धि मेरो पहिलो प्राथमिकता हो ।’’ नेकपाका उम्मेदवार ङुटुक गुरूङले कृषि खेतीमा गरेको प्रगति तथा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजनाले मतदाता खुसी भएको बताउँदै यसपटक जिल्लाको प्रतिनिधित्व गर्ने दाबी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले जेनजी आन्दोलनको जगमा सम्पन्न हुन लागेको निर्वाचनबाट पुराना शक्ति विस्थापित हुने बताउनुभयो । थकालीले भन्नुभयो, ‘‘देशभरको लहरले मुस्ताङलाई पनि छोएको छ, यस पटक पहिलो सुखद् सन्देश मुस्ताङबाट दिन चाहन्छौं ।’’
रास्वपाले निर्वाचनका लागि सार्वजनिक गरेको ‘बाचापत्र’ लाई पूरा गरेमा मुस्ताङको धेरै समस्या समाधान हुने उम्मेदवार थकालीको भनाइ छ । मुस्ताङमा आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
यस पटक चुनिने जनप्रतिनिधि कानुन र विधि निर्माता भए पनि भौतिक पूर्वाधार र जनजीविकाको सवाल सम्बोधन नभएकै कारण मतदाताहरू भौतारिएको अवस्थामा आफ्नो पक्षमा पार्न बिहानदेखि साँझसम्म उम्मेदवार व्यस्त छन् ।
जिल्लाको लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३५ सय ५३ मतदाता र तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा ७ हजार ७ सय ७५ मतदाता गरी कुल ११ हजार ३ सय २८ मतदाता छन् ।