काठमाडौँ, फागुन १३ गते । आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ र भक्तपुरबाहेकका सबै जिल्लामा मतपत्रसहितका आवश्यक सामग्री पुगिसकेका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले निर्वाचनका लागि आवश्यक ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र ‘समानुपातिक निर्वाचन प्रणाली’ तर्फका दुवै प्रकारका मतपत्रहरू ७५ जिल्लामा पुर्याइएको बताउनुभयो ।
उहाँले दुर्गम र हिमाली जिल्लाहरूलाई प्राथमिकतामा राखेर केही दिनअघि देखि नै ढुवानी सुरु गरिएको उल्लेख गर्नुभयो ।
आयोगका अनुसार काठमाडौँ र भक्तपुर जिल्लाका लागि भने नजिकको दूरी भएकाले बिहीबार मात्रै निर्वाचन सामग्री र मतपत्र निर्वाचन कार्यालयमा पुर्याइने कार्यतालिका रहेको सहायक प्रवक्ता जिसीले चर्चा गर्नुभयो ।
ढुवानी कार्यमा नेपाली सेनाको सुरक्षा स्कर्टिङ प्रयोग गरिएको र हालसम्मको ढुवानी प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो ।
यस पटक प्रतिनिधिसभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक सिटका लागि मतदान हुँदै छ । आयोगले मतपत्रसँगै स्वस्तिक छाप, मतपेटिका, लाहा, मसी लगायतका ६० भन्दा बढी प्रकारका निर्वाचन सामग्रीहरू जिल्ला जिल्लामा पठाएको विषयमा जिसीले उल्लेख गर्नुभयो ।
फागुन १७ गतेभित्रमा सबै मतदान केन्द्रहरूमा कर्मचारी र सामग्री पुर्याउने लक्ष्य रहेको आयोगले जनाएको छ ।