साहारा लिम्बू
फुङलिङ, फागुन १३ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि वर्षासँगै तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात भएको हो।
हिमपात भएपछि पाथीभरा क्षेत्रमा चिसो बढेको छ । मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा क्षेत्रमा यो वर्षमा चौथो पटक हिमपात भएको हो । उहाँका अनुसार मन्दिरसँगै मन्दिर क्षेत्र आसपास र फुङलिङ नगरपालिका–१०, काफ्लेपाटीसम्म नै हिमपात भइरहेको छ।
गत वर्षको तुलनामा आजको हिमपात बढी भएको उहाँको भनाइ छ । हिमपातले दर्शनार्थीलाई भने प्रभाव पारेको उहाँले बताउनुभयो । पाथीभराको सिजन सुरु भएसँगै अहिले दर्शनार्थीहरूको सङ्ख्या पनि बढ्न थालेको छ । हिमपात भए पनि मन्दिरमा दर्शन गर्ने भक्तजनहरू भने आइरहेको महतको भनाइ छ।
साताको मङ्गलबार र शनिबार अन्य दिनको तुलनामा अत्यधिक मात्रामा तीर्थयात्री पाथीभरा पुग्ने गरेका छन् ।