साहारा लिम्बू
फुङलिङ, फागुन १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैँक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैँक खाता खोलेका हुन् ।
ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा (एमाले) बाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन्द्र श्रेष्ठ उम्मेदवार हुनुहुन्छ।
यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद थापा, जनता समाजवादी पार्टी (जसपा) बाट अरुण लेछर्बो लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट इन्द्र थलङ लिम्बू, श्रम संस्कृति पार्टीका सन्तोष राई, उज्यालो नेपाल पार्टीबाट कीर्तिमान मादेन, जनता समाजवादी पार्टीबाट नेपालका सूर्य तमु र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट नरपति पौडेल उम्मेदवार रहनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ताप्लेजुङका उम्मेदवारले खर्च गर्न पाउने अधिकतम् रकम ३३ लाख रुपियाँ रहेको छ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यस पटक चुनावी खर्च प्रयोजनका लागि उम्मेदवार वा आधिकारिक प्रतिनिधिको बैँक खाता अनिवार्य गरेको हो ।