• १३ साउन २०८१, आइतबार

पानी माग्दै जनप्रतिनिधिलाई बन्दी बनाएर थारु महिलाले गैया बेह्रे

blog

कपिलवस्तुको गोरुसिंहिया गाउँका थारू महिलाले पानी माग्न प्रदर्शन गरेको गैया बेह्राइ कार्यक्रम । तस्बिर : जानु पाण्डे

कपिलवस्तु-नवलपरासी, साउन ३ गते । बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा ‘गैया बेह्रने’ प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो । 

कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको बरघर (समुदायको अगुवा) खोज्दै हिँडे । गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गैया बेह्रने’  (अर्को गाउँको अगुवालाई बन्दी बनाएर आफ्नो गाउँमा ल्याउने प्रचलन) भनेर महिला हिँडेका हुन् । त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो । पश्चिम नवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।


सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताउनुभयो । बडघरलाई रातभरि थुनेपछि भगवान् खुसी भएर वर्षा हुने विश्वासअनुसार महिला बडघरको अपहरण गर्न पुरुषको भेषमा निस्केका हुन् । वर्षा नभएपछि थारू समुदाय यसरी पानी माग्दै हिँड्छन् । बरघर फेला परेपछि बाँधेर आफ्नो गाउँमा ल्याउने थारू अगुवा शिवाली थारूले बताउनुभयो । बरघरसँगै हरेक घरमा रहेका हलो, कोदालोसमेत खोसेर ल्याउने गर्छन् ।

थारू प्रचलनअनुसार बाँधेर गाउँमा ल्याइएको बरघरलाई कोठामा ताल्चा लगाएर रातभर थुनेर राख्ने गरिन्छ । थुनामा रहेका बरघरले थारू खानाका परिकार, मदिरा सेवन गराउने धार्मिक मान्यता रहेको छ । बरघरलाई थुुनामुक्त गरेपछि वर्षा हुने र खेती बाली हुर्किने विश्वास रहेको प्रदर्शनमा सहभागी चमेली थारूले बताउनुभयो । बरघर थुनेको रात महिला सजनी भाका (पानी पार्न गाइने) गीत गाउँदै हलो जोत्ने गर्छन् । लामो समयसम्म पानी परेन भने थारू समुदायले ‘गैया बेह्रने’ गरेको पत्रकार सीताराम चौधरीले बताउनुभयो । 

Author

जानु पाण्डे-गोपी ज्ञवाली