काठमाडौँ, फागुन ११ गते । नियमित बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ ।
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ ।
विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरु लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितीमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । रासस