• ११ फागुन २०८२, सोमबार

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

blog

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, फागुन ११ गते।
प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन नजिकिएसँगै गुल्मी जिल्लामा निर्वाचन तयारीलाई तिब्र पारिएको छ। यही फागुन २१ मा एकै चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्यित गरी कर्मचारी खटनपटन कार्य सम्पन्न गरेसँगै अहिले यस जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय, गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो।

उहाँका अनुसार आइतबार निर्वाचन क्षेत्र नम्बर–१ मा खटिनुभएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो। आज (सोमबार) निर्वाचन क्षेत्र नम्बर–२ मा खटिनुभएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिनेछ। तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम प्रदान गरिएको हो।

दुई नगरपालिका र दश गाउँपालिकाका ९३ वडामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन्। जसमा क्षेत्र नम्बर १ मा ८३ मतदानस्थल र १५५ मतदान केन्द्र कायम भएको छ। क्षेत्र नम्बर २ मा ६२ मतदानस्थल र १२९ मतदान केन्द्र कायम भएको हो।जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र समेत कायम भएको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन सम्पन्न गर्नका लागि कुल १७ सय सात कर्मचारी परिचालित हुनुभएको छ। प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी परिचालन गरिएको छ।

अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसअनुसार मतदान अधिकृत २८५, सहायक मतदान अधिकृत २८५, सहायक कर्मचारी ८५२ र सहयोगी कर्मचारी २८५ जना परिचालित हुनुभएको छ। मतदाताको संख्याको आधारमा मतदान अधिकृतले स्वयंसेवक नियुक्त गर्न पाउने बताइएको छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता छन्। जसमा महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना रहेका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ती सुरक्षालाई चुस्त राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहको सुरक्षाको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। सबै सुरक्षा निकायहरु फिल्डमा परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाइ छ।