• ११ फागुन २०८२, सोमबार

उम्मेदवारलाई गिज्याइरहेको हुलाकी सडक, छ वर्षमा पनि बनेन

blog

नारायण चोकदेखि त्रिवेणी जोड्ने हुलाकी सडक ।

विकास अधिकारी

पश्चिम नवलपरासी, फागुन ११ गते । नवलपरासी–१ मा विकासनिर्माण, रोजगारी सिर्जना, कृषिमार्फत समृद्धिलगायतका विभिन्न लोकप्रिय प्रतिबद्धताका साथ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । 

दैनिक भोट माग्न हिँड्ने सडकको अवस्थाले भने उम्मेदवारलाई नै गिज्याइरहेको छ । दुई वर्षमा निर्माण सक्नुपर्ने बर्दघाटको नारायण चोकदेखि धार्मिक स्थल त्रिवेणीसम्म जोड्ने सडकको छ वर्ष बित्दासमेत विस्तारको काम पूरा भएको छैन । सो सडकखण्ड हुँदै बर्दघाटबाट सुस्तासम्म दैनिक उम्मेदवार मत माग्न हिँडिरहेका छन् । 

अघिल्लो निर्वाचन जस्तै अहिले पनि प्रायः उम्मेदवारको चुनावी एजेन्डामा हुलाकी सडक विस्तार सम्पन्नका लागि पहल गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । धुलो र खाल्टाखुल्टीका कारण उक्त सडकमा यात्रा गर्ने जोकोहीले पनि नेताप्रति आक्रोश व्यक्त गरिरहेका छन् । 

उक्त सडक निर्माणमा भएको ढिलाइविरुद्ध प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव गत वर्ष अनशनसमेत बस्नुभएको थियो । सडक निर्माण तत्काल सुरु हुने प्रतिबद्धता आएपछि एक दिनमै अनशन तोडेका यादवले नेतृत्व गर्नुभएको प्रतापपुर गाउँपालिका अगाडिकै सडक अहिलेसम्म बनेको छैन । सेमरी बजार क्षेत्रमा एक किलोमिटर जति सडक कालोपत्रे गरेर ठेकेदारले कामलाई गति दिएको छैन । सडक कालोपत्रे सुरु हुनेबित्तिकै जस लिन जनप्रतिनिधिको होडबाजी थियो । २०७९ सालको चुनाव जित्नुभएका विनोद चौधरीले सो सडकको काम पूरा गर्ने प्रतिबद्धता पटक पटक गरे पनि सडक विस्तारको कामले गति लिन सकेको छैन । 

फेरि चुनाव जित्ने अभिलाषाका साथ मैदानमा उत्रिनुभएका चौधरीका लागि यो सडकको दुरवस्था चुनौतीका रूपमा खडा भएको छ । सुस्ताका स्थानीय सन्तोष पाठकले सडकको काम सम्पन्न गर्न जनप्रतिनिधिले कुनै पहल नगरेको गुनासो गर्नुभयो ।

“चुनावमा दलका एजेन्डा बने पनि काम भएन, यसअघि पनि नेताहरूले सडकमा डोजर आउने जस लिन होडबाजी गर्ने तर काम नहुँदा चुपचाप लाग्ने गरेकाले जनता निराश छन्,” पाठकले भन्नुभयो । चार पटकसम्म थप गरिएको म्याद यस वर्षको चैत मसान्तसम्म सारिएको छ तर सडक निर्माण पूरा हुने छाँटकाँट अझै देखिएको छैन । दैनिक धुलोको सास्ती भोगिरहेका स्थानीयलाई अहिले घरअगाडिको अलपत्र सडक पूरा गरिदिने प्रतिनिधि चाहिएको छ । 

सङ्घीय सरकार अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुमार्फत निर्माण भइरहेको उक्त खण्डको काम छ वर्षमा जम्मा ४५ प्रतिशत मात्र काम पूरा भएको छ । वज्र महालक्ष्मी जेभीले उक्त सडक विस्तारका लागि ४९ करोडमा ठेक्का पाएको थियो । हुलाकी सडकका तीन वटै खण्डको काम पूरा गर्न ताकिता गर्दै आएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले जनाएको छ ।