• ११ फागुन २०८२, सोमबार

राजनीतिको पुनर्ताजगी

blog

प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम तयारी भइरहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षबाट १६५ जना र समानुपातिकबाट ११० जना प्रतिनिधि चुनिने व्यवस्थाका लागि आमनिर्वाचनको तयारी भएको हो । फागुन २१ गते एकै चरणमा निर्वाचन गराउने तयारी स्वरूप सबै पक्ष निर्वाचन क्षेत्रमा व्यस्त छन् । चुनावमा भाग लिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रचारप्रसारमा मतदाताको घरदैलोमा पुगेका छन् । चुनावी घोषणापत्रसहित मैदानका उत्रिएका उम्मेदवारले मतदातालाई फकाउन फरक फरक शैली पनि अपनाएका छन् । चारै तहको सुरक्षा निकाय शान्ति सुरक्षाका लागि देशव्यापी खटिएको छ । नवयुवा (जेनजी) ले गरेको आन्दोलनको जगमा हुन लागेको यो चुनावको विशिष्ट महìव छ । चुनावमार्फत मुलुकले नयाँ परिवर्तन खोजेको छ । पछिल्ला दिनमा राजनीतिक विमर्श भने दुई धारमा विभाजित भए जस्तो देखिएको छ । राजनीतिक दलका नेता र कार्यकर्ता अबको संसद्ले गर्नुपर्ने कामका सन्दर्भमा भन्दा पनि ‘पुराना’ कि ‘नयाँ’ दल भन्दै सामाजिक ध्रुवीकरणतिर लागे जस्तो अनुभूति मतदाताले गर्न थालेका छन् । प्रतिनिधि सभाले ऐन, कानुन निर्माण गर्ने र देशको समग्र मार्गचित्रमा बहस गरेर गन्तव्य देखाउने हो । ती विषय थाती राखेर नयाँ र पुरानाको गलत बहस चलाएर राजनीतिक रूपान्तरणको कार्यदिशा, कार्यक्रम र नीतिनिर्माणको विषय ओझेलमा पर्ने हो कि भनी सचेत हुनुपर्ने भएको छ । प्रबुद्ध वर्गसँगै जेनजी अभियन्ताले दल नयाँ वा पुराना नहुने बताउँदै नीति, सिद्धान्त, विचार, दृष्टिकोण र कार्यशैलीमार्फत दलसँगै देशको राजनीतिलाई पुनर्ताजगी गर्नुपर्नेमा जोड दिएका छन् । दलका नेता, कार्यकर्ता र उम्मेदवारले संसद्को कार्यक्षेत्र, कर्तव्य र सांसदले गर्नुपर्ने कामका सन्दर्भमा सिर्जनशील बहस गर्नु पर्छ । 

प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराएर मुलुकलाई निकास दिने प्रतिबद्धता अनुसारको तयारी सरकारले गरेको बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्वाचनमार्फत मुलुकले निकास खोजेकाले विवादरहित ढङ्गले निर्वाचन सम्पन्न गराउन उहाँले सबैको सहयोग माग्नुभएको छ । मुलुकले निर्वाचनमार्फत परिवर्तन खोजेको छ । राजनीति र राज्य प्रणालीमा नवीनताको खोजी भएको छ । दोस्रो जनआन्दोलन होस् वा जेनजी आन्दोलन होस्, नागरिकले मागेको भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी दबाब सिर्जना गर्न सक्ने पारदर्शी नेतृत्व हो । सुशासन र भ्रष्टाचारविरुद्ध उभिने नेतृत्वले मात्र युवाको सहभागिता र आशालाई जगाउन सक्छ । भाषणले होइन, काममार्फत मुलुकले नयाँपन खोजेको छ । नागरिकमा चेतनाको स्तर बढेको छ । उनीहरूले मुलुक र आफ्नो भविष्यका बारेमा नेतृत्वसँग प्रश्न गर्न थालेका छन् । यस्तो स्थितिमा राजनीतिक नेतृत्वले आफूलाई परिष्कृत गर्नु पर्छ । आफू सुध्रिने र मुलुक सुधार्ने काम दलहरूले अहिले नगरे कहिले गर्ने ? आममतदाताको प्रश्न गलत छैन । नेतृत्वले विगतका कमीकमजोरी र स्वार्थीपनालाई त्यागेर सुधारिएर आउनै पर्छ । सचेत मतदातालाई अब भ्रमको खेती गरेर झुक्याउन सकिँदैन । 

राजनीतिक दलले कार्यशैलीमा नयाँपन दिएर अघि बढ्नु पर्छ । अहिले नयाँ व्यक्ति, नयाँ विचार भनेर बहस भइरहेको छ । मुलुकले खोजेको कार्यशैलीमा नवीनता हो, सुधार हो । सिद्धान्तवादी मात्रै भएर बहस गरेर मात्रै देश बन्दो रहेनछ । लामो समयदेखि सिद्धान्तको बहस त धेरै भयो तर मुलुक बनेन, समृद्धिको सपना पनि पूरा भएन । त्यसैले अहिले नीतिसँगै राज्यप्रति समर्पण नयाँ हुनु पर्छ । कामलाई नयाँपन दिन सक्ने नेतृत्व नै नयाँ हुन्छ । सुशासन, सुधार, राज्य सञ्चालनमा पारदर्शिता र भ्रष्टाचार अन्त्य गरेर देशमा नवयुग थालनी गर्नु पर्छ । देश हाँक्न नेतृत्वको कार्यशैली र क्षमता नयाँ हुनु पर्छ । नेपाली नागरिकलाई नयाँ वा पुराना पार्टी चाहिएको होइन, जवाफदेही र पारदर्शी नेतृत्व चाहिएको छ । महँगी नियन्त्रण, अर्थतन्त्रमा सुधार, वैदेशिक ऋण घटाउने उपाय, युवालाई स्वदेशमै रोजगारी दिने जस्ता विषयलाई नयाँ रूपमा राज्यले सम्बोधन गर्नु पर्छ ।  निर्वाचनपछि संसद् नयाँ बन्छ, सरकार नयाँ बन्छ । नयाँ बहस थालनी हुन्छ । अहिलेको निराशाको प्रमुख कारण नै भ्रष्टाचार हो । भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी दबाब सिर्जना गर्ने र देशलाई सोही अनुरूप नेतृत्व दिने र प्रस्तावित नीति कार्यक्रम कार्यान्वयन गर्ने नेतृत्व देशले खोजेको छ । जेनजी आन्दोलनपछि जे जस्ता बहस उठेका छन्, त्यसले राजनीतिक संस्कारमा सुधार ल्याउने सङ्केत देखिएको छ । यतिखेर सबैभन्दा महत्वपूर्ण सरोकार केमा छ भने व्याप्त भ्रष्टाचार र गैरराजनीतिक चरित्र समाप्त हुनु पर्छ । आशा गरौँ, नयाँ निर्वाचनपछि बन्ने सरकारले सुशासनको बलियो जग बसाउने छ ।