• १६ भदौ २०८१, आइतबार

'राधाको पाउमा पाउजु' सार्वजनिक

blog

काठमाडौं, साउन २ गते । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच 'पाउमा पाउजु' बोलको गीत सार्वजनिक गरिएको हो । 

नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भर्नुभएको छ ।

सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको हो । कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले फिल्म निर्माण कर्ताको रुपमा प्रवेश गर्नुभएका नायक सौगात मल्ललाई शुभकामना दिनुभयो । 

त्यस्तै, गायक कालीप्रसाद बाँस्कोटाले तिजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताउनुभयो । गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भएपनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुशी लागेको बताउनुभयो । 

नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कमब्याक गर्नको लागि यो फिल्मले भूमिका दिएकोमा खुशी व्यक्त गर्नुभयो । नायक सौगात मल्लले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताउनु भयो । 

नायक निश्चल बस्नेतले राधा फिल्म राम्रो बनेर आउने विश्वास व्यक्त गर्दै निर्माण क्षेत्रमा काम शुरु गरेकोमा नायक मल्ललाई शुभकामना व्यक्त गर्नुभयो । सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टीसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भूमिका छ । 

फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।