• १३ माघ २०८२, मङ्गलबार

सिनेपाः रिपोर्टमा ‘गोबर गणेश’ अगाडि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १३ गते । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले माघ १० गतेसम्मको चलचित्रको कमाइको विवरण सार्वजनिक गरेको छ । चार नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खेको सिनेपाले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो । 

बक्सअफिस रिपोर्टमा चलचित्र ‘गोबर गणेश’ को आम्दानी एक करोड  १४ लाख ३५ हजार २०६ रुपियाँ ग्रस रहेको छ । सो अवधिसम्म यस चलचित्रका ४० हजार २३४ वटा टिकट बिकेका छन् । तीन वटै चलचित्रमध्ये ‘गोबर गणेश’ केही अगाडि देखिएको छ । यस चलचित्रमा निर्देशक मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ ।

यसै गरी निगम श्रेष्ठ निर्देशित चलचित्र ‘भाइरल गोर्खे’ ले ३४ लाख ५३ हजार ७६० नेरु ग्रस कमाएको छ । यसका १० हजार ६०५ टिकट बिक्री भएका छन् । चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा देखिनुभएको छ । अन्य कलाकारमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायत रहेका छन् । याम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’ ले ३३ लाख ७२ हजार ७१५ रुपियाँ ग्रस कमाएको छ । यसका १० हजार ८१३ वटा टिकट बिकेका छन् । बुबाछोरीबिचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतले अभिनय गर्नुभएको छ ।