• ७ फागुन २०८२, बिहिबार

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

blog

बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमान ।

ढाका, फागुन ७ गते । बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गर्नु भएको छ । योजनामा उहाँले चार वटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गर्नु भएको छ । 

पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुको मूल्य नियन्त्रण गर्ने योजना छ । तेस्रोमा निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्नुका साथै जीवन–यापनको लागत घटाउन जोड दिनु भएको छ । चौथोमा सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीमा सुधार गर्ने उहाँले बताउनु भएको छ । 

यसबाहेक, उहाँले भ्रष्टाचार विरुद्ध लड्नका लागि कडा प्रयासको निर्देश गर्नु भएको छ । मङ्गलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई १८० दिन भित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । यस अघि बङ्गलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरेपछि एक सय दिनको प्राथमिकता प्याकेज घोषणा गर्ने गर्थे । यद्यपि, रहमानले यसलाई तोड्दै १८० दिनको अवधि तथ गर्नु भएको छ ।

अपराध उन्मूलन र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनताको मनमा शान्ति र सुरक्षा पुनस्र्थापना गर्नु सरकारको एजेन्डाको प्राथमिक केन्द्रबिन्दु भएको रहमानले बताउनु भएको छ । मन्त्रीहरूले शपथ लिएपछि यस्ता विषयमा कुरा गर्न थालेका छन् भने गृहमन्त्री सालाउद्दिन अहमदले पत्रकारलाई बङ्गलादेशमा आगामी दिनमा भिड–भाड हिंसा नहुने घोषणा गर्नु भएको छ । उहाँले लागुऔषध नियन्त्रण र अन्य आवश्यक उपाय सहित देशको अवस्थालाई कडाइका साथ नियन्त्रण गरिएको पनि घोषणा गर्नु भयो ।

विदेश नीतिका विषयमा विदेश मन्त्री कलिलुर रहमानले बङ्गलादेशको नयाँ विदेश नीति “बङ्गलादेश पहिलो हुने बताउनु भएको छ । उहाँले बङ्गलादेशको हितलाई प्राथमिकता दिँदै  सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने र, स्वर्गीय राष्ट्रपति जियाउर रहमानको विदेश नीति जस्तै मार्गमा अगाडि बढ्ने बताउनु भएको छ । पवित्र रमजानको अवसरमा नागरिकलाई शुभकामना दिँदै रहमानले सामानको मूल्य आम जनताको पहुँच भन्दा बाहिर नजानका लागि व्यापारीहरूलाई सतर्क रहन आग्रह गर्नु भएको छ । रासस/क्युएनए