बाबुराम कार्की
वराहक्षेत्र, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीकाे चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न सप्तरी हिँडेका अध्यक्ष लिङ्देनले सुनसरीको वराहक्षेत्रमा संक्षिप्त भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । भेटघाटमा बोल्दै उहाँले भन्नुभयो, “यही अवस्थामा चुनाव हुँदाखेरि पनि एउटा प्रजातान्त्रिक पार्टी हुनाको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावबाट भाग्ने छैन र चुनावलाई आन्दोलनकै आशङ्का रूपमा उपयोग गर्ने निर्णय गरेर हामी जनताको बिचमा आएका छौं ।” भोट दिने बेलामा बाटो, पुल बन्छ कि बन्दैन भन्ने कुराभन्दा पनि विषम परिस्थितिमा हुन लागेको चुनावमा देश रहन्छ कि रहँदैन भन्ने विचार गरेर भोट खसाल्न मतदाताहरू लाई सुझाउनुभएको छ ।
भोट दिने कार्य छोरी दिँदा कुटुम्व बुझेर दिएजत्ति नै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । “एक भोटका कारण गलत मान्छेले जित्यो भने देशले दुःख पाउँछ त्यसैले हजार चोटी सोचेर भोट दिनुपर्छ,” उहाँले भन्नुभयो ।
सुनसरीको क्षेत्र नम्बर ४ स्थित चक्रघट्टीमा आयोजित चुनावीकोण सभामा बोल्दै उहाँले चुनावको मुखमा जनतालाई रिझाउन धेरै उम्मेदवारहरू जनताको घरदैलोमा नमस्कार गर्दै आउने प्रवृत्तिलाई बुझेर सजग भई भोटको शक्तिको उपयोग गर्न सुझाउनुभएको थियो ।