नौरते नेपाली
सिँजा (जुम्ला), फागुन ७ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ । कुल ६ सय ५४ जना कर्मचारी खटिनुपर्ने भए पनि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा परिचालन गरिएको हो । जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी परिचालन गर्न बाँकी छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तले जिल्लाको एक सय ८ मतदान केन्द्रमा १०८ मतदान अधिकृत, १०८ सहायक मतदान अधिकृत, एक सय ८ जना सहयोगी र तीन सय २४ जना अन्य कर्मचारी परिचालन गरिएको बताउनुभयो । समानुपातिक र पारदर्शी हिसाबले कर्मचारी खटनपटन गरिएको उहाँका भनाइ छ । निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक निर्देशन समेत जारी भएको छ ।
यो पटकको निर्वाचनमा ११८ जना महिला कर्मचारी परिचालन गरिएको छ । सात जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृत महिला कर्मचारी खटिएका हुन् । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पूरै महिला कर्मचारीमात्रै परिचालन गरिएको हो ।
सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार चन्दननाथ माविको केन्द्रमा सुर्खेत जुम्ला उच्चअदालतका शाखा अधिकृत सुशीला पाण्डे र सहायक मतदान अधिकृतमा डिभिजन वन कार्यालयका विस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो । स्थानीय कर्मचारीलाई फरक मतदान केन्द्र पर्ने गरेर खटाइएको छ । निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक रूपमा दुर्गम र दूरीका हिसाबले सेवा सुविधा प्रदान गरिने छ ।
यो पटकको निर्वाचनमा कार्यालय सहयोगीबाहेक सबै स्थायी कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । निर्वाचनमा खटनपटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले एक हजार चार सय ९९ कर्मचारी छनोट गरेर पठाएकोमा ६ सय ५४ जना मात्रै परिचालन गरिएको हो ।