• ६ फागुन २०८२, बुधबार

टी–२० विश्वकप : दक्षिण अफ्रिका अपराजित रहँदै सुपर आठमा

blog

बल समाउने प्रयास गर्दै दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, फागुन ६ गते । दक्षिण अफ्रिका समूह चरणमा अपराजित रहँदै आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।

एक खेल अगावै सुपर आठमा स्थान बनाएको दक्षिण अफ्रिकाले बुधबार दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियमा भएको समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले हरायो । 

यसअघि समूह ‘डी’ मा दक्षिण अफ्रिकाले समूह चरणमा न्युजिल्यान्ड, अफगानिस्तान र क्यानडालाई हराएको थियो । यस  समूहबाट न्युजिल्यान्डले सुपर आठमा स्थान बनाएको छ । युएई, अफगानिस्तान र क्यानडा बाहिरिएका छन् । 

जितका लागिथ युएईले दिएको एक सय २३ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । 

दक्षिण अफ्रिकाको जितमा डिभाल्ड ब्रेबिसले सर्वाधिक ३६ रन बनाउनुभयो । रायन रिकल्टनले ३० र कप्तान एडेन माक्ररमले २८ रन बनाउनुभयो । बलिङमा युएईका हैदर अलि, मोहम्मद जगदुल्लाह, मोहम्मद फरिक र मोहम्मद अरफानले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । युएईका लागि अलिशान सरफुले सर्वाधिक ४५ रन बनाउनुभयो ।

यस्तै कप्तान मोहम्मद वासिमले २२, ओपनर आर्यशं शर्माले १३ तथा मोहम्मद अरफान ११ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका कर्विन बोसले तीन विकेट लिनुभयो । एनरिक नोर्कियाले दुई तथा जर्ज लिन्डाले एक विकेट लिनुभयो ।