सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), फागुन ५ गते । फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि धनकुटामा ६० जना स्वयम्सेवकले मतदाता शिक्षा दिन सुरु गर्नुभएको छ ।
धनकुटाका सातवटै पालिकामा मतदाता शिक्षा दिन सुरु गरिएको हो । तीन नगरपालिका र चार गाउँपालिका गरी सातवटै पालिकाका रहेको धनकुटामा जम्मा ६० वटा एक–एक जना स्वयम्सेवकले मतदाता शिक्षा दिँदैगरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताउनुभयो ।
निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित मतदाता शिक्षा कार्यक्रमलाई तिव्रता दिइएको उहाँले बताउनुभयो । स्वयम्सेवकहरु घर–घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेगरी खटाइएको छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउने तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउने काम सुरु भएको श्रेष्ठले बताउनुभयो ।
विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षितगरी व्यावहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गर्न थालिएको बताइएको छ ।
मतदाता शिक्षमा मतदालाई मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिन थालिएको छ ।
मतदाता शिक्षाको लागि धनकुटाको ७ वटै स्थानीय तहमा अनुगमनका लागि निर्वाचन सम्पर्क व्यक्ति एक–एक जना रहेका छन् । यस्तै जिल्लाका ६० वटै वडामा मतदाता शिक्षाका लागि एक–एक जना स्वयमसेवक खटाइएका छन् ।
मतदाता शिक्षाका लागि स्वयम् सेवकहरुमा बालविकास सजहकर्ता वा स्वास्थ्य स्यवय सेविका वा सामाजिक परिचालकलाई तोकिएको छ । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक–एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । सोही सम्पर्क व्यक्तिलाई नै यसपटक मतदाता शिक्षा कार्यक्रमको अनुमगनकर्ताका रुपमा तोकेको जनाइएको छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतदाता संख्या एक लाख १८ हजार ४ सय २५ रहेका छन् भने १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन् । त्यसैगरी जिल्ला कारागार धनकुटामा एक र निर्वाचनमा नखटिएका कर्मचारीको लागि एक गरि दुई वटा अस्थायी मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनकुटा गत २०७९ मा भएको प्रतिनिधि सभाको प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको छ । २०७९ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदाता १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६९ हजार ४ सय १४ मत अर्थात ५९ दशमलब ३६ प्रतिशत मत खसेको थियो ।
जसमध्ये ६६ हजार ७ सय २७ सदर मत रहेकोमा २ हजार ७ सय १७ मत अर्थात ३ दशमलब ९१ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी समानुपातिकतर्फ ७० हजार २ सय १९ मत अर्थात ५९ दशमलब ५१ प्रतिशत मत खसेको थियो । जसमा ६६ हजार ३ सय २० मत सदर रहेकोमा ३ हजार ८ सय ९९ मत अर्थात् ५ दशमलब ५५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।