हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ५ गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा अधिकांश स्थानीयको मूल ढोकामा ताल्चा झुन्डिएको छ । कठ्याङ्ग्रिँदो जाडो छल्न जिल्लाबाहिरका सहर झरेकाहरू फागुन महिना लागिसक्दा समेत गाउँ फर्किएका छैनन् । ल्होमन्थाङ बजार तथा ग्रामीण क्षेत्रमा रहेका होटेल, पसल तथा व्यक्तिको घर बन्द छन् । एउटा बाली कृषि हुने गाउँपालिकामा पशुचौपाया गोठालालाई जिम्मा लगाएर निस्किएका घुम्ती व्यापार गर्न सीमापारि भारतसम्म पुगेका छन् ।
मङ्सिर महिनामा गाउँ छोडेर देशका विभिन्न सहरमा रहेका अनुकूल मौसम कुरेर फागुन महिनामा फर्किने भए पनि सीमापारि भारत पुगेका घुम्ती व्यवसाय गरी विगतका वर्षमा नेपाली नयाँ वर्षको वैशाख महिनामा मनाइने मुख्य पर्व तिजी मनाउन मात्रै फर्किने गरेका थिए ।
ल्होमन्थाङसँगै छिमेकी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले चिसो मौसममा स्थानीय जडीबुटी, लत्ताकपडा लिएर भारतको बिहार, हिमाञ्चल, उत्तरप्रदेशलगायतका राज्यमा छ महिनासम्म व्यापार गर्ने गरेका छन् । हाल उपल्लो मुस्ताङको करिब ८० प्रतिशत स्थानीय कठ्याङ्ग्रिँदो चिसोसँगै बेँसी झरेकामा ३० प्रतिशतको हाराहारीमा भारत जाने अनुमान गरिएको छ । सीमापारि प्रवेश गरेका मुस्ताङीको यकिन तथ्याङ्क छैन । तथापि वैशाख, जेठ महिनामा फर्किने अधिकांश भारतबाटै आउने गरेको विगतको नजिरले समेत आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारलाई सीमापारिका मतदातालाई गाउँ फर्काउन निकै सकस हुने देखिएको छ ।
सीमापारि व्यापार, व्यवसायमा व्यस्त रहेका स्थानीयलाई उम्मेदवारले सम्पर्कमा ल्याएर भोट हाल्न मतदान केन्द्रसम्म पु¥याउने योजना बनाएका छन् । विगतमा निर्वाचनमा पूर्ण रूपमा सफलता प्राप्त गर्न नसकेको अवस्थामा यस पटक चिसो मौसम, हिउँसमेत नपग्लिएको समयमा हिमपात हुन लागेकाले उम्मेदवारलाई समेत मतदातालाई जिल्लाबाहिरबाट लैजान समस्या भइरहेको गुनासो गरेका छन् ।
आगामी फागुन २१ मा हुने निर्वाचनमा ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा तीन हजार ५५३ मतदाता छन् । दुवै पालिकाको मुख्य बस्ती चराङ, ल्होमन्थाङ, छोसेरसहित छोण्हुप, घमी, सुर्खाङ जस्ता धेरै जनसङ्ख्या भएका बस्तीमा फागुनको पहिलो साता लाग्दासम्म चुनावको कुनै रौनकता छैन । तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सात हजार ७७५ मतदाता रहेका छन् । गाउँमा कुरुवा, वृद्धवृद्धासहित कोरला नाकाबाट सामान ल्याउनेलगायत फाट्टफुट्ट स्थानीयवासी भेटिन्छन् । जिल्लामा क्रियाशील राजनीतिक दलका उम्मेदवार तथा सहयोगी मतदाता भेटघाटका लागि भारतसम्म पुगेर फर्किएका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता आफन्त भेटघाट तथा विभिन्न कामका लागि भारतमा पुगेर मतदातालाई समेत भेटेका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली, नेकपा –एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले मतदाता भेटघाटसँगै अब जिल्ला फर्किने तयारी गरिरहेको जानकारी दिएका छन् ।
त्यसै गरी नेकपाका उम्मेदवार ङुटुक गुरुङले सोमबार जिल्ला प्रवेश गर्ने बताउनुभयो । उम्मेदवार गुरुङले भन्नुभयो, “अब जिल्लामा रहनुभएका मतदातामा केन्द्रित हुन्छु । जिल्लाबाहिरका मतदातासँगको भेटघाट सकियो ।” त्यसै गरी नेकपा (एमाले) का उम्मेदवार विष्ट भन्नुहुन्छ, “जाडो छल्न गएका मतदाता पनि फर्किंदै हुनुहुन्छ, अब चुनावी प्रचारप्रसार गाउँ केन्द्रित हुन्छ ।” चिसो समयमा जिल्लाबाहिर मतदाता भेटघाट गरेका मुस्ताङमा गर्मी मौसम सुरु भएपछि चुनावी रौनक बढ्दै जाने अपेक्षा गरिएको छ ।
मुस्ताङमा यस पटक प्रमुख दलका उम्मेदवारसँग आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनसमेतले प्रतिस्पर्धा गर्दै छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३२८ रहेका छन् ।