दाङ समाचारदाता
दाङ, फागुन ५ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावको रौनक छाएको छ तर दाङका मुक्त कमैया बस्तीमा भने चुनावको चहलपहल खासै देखिँदैन । घोराही उपमहानगरपालिका–१६, अम्बापुरस्थित मुक्त कमैया शिविरकी सुषमा चौधरीले आफूलाई चुनावका खासै जानकारी नभएको बताउनुभयो ।
झन्डै दुई दशकदेखि मजदुरी गर्दै आउनुभएकी सुषमालाई मजदुरीमै दिन कट्छ । उहाँले भन्नुभयो, “बिहान सबेरै उठेर मजदुरीमा जान्छु, बेलुका फर्किन्छु । मलाई चुनावको बारेमा कसैले राम्ररी भनेका पनि छैनन् । सुन्न ठाउँमा जाने फुर्सद पनि पाएकी छैन ।”
एक दिन पनि मजदुरी नगरे घरमा चुलो नबल्ने बताउँदै सुषमाले भन्नुभयो, “मजुदरी छैन त पेट भरिँदैन अनि चुनावको कुरा कति बेला गर्ने ?” चुनावका बेला मत माग्न आउने तर अघिपछि खासै मतलब नगर्ने राजनीतिक नेता कार्यकर्तासँग उहाँको गुनासो पनि रहेको छ । उहाँले भन्नुभयो, “चुनाव आउँदा लालपुर्जा दिने वाचा गर्छन्, चुनाव सकिएको भोलिपल्टदेखि लालपुर्जाबारे कसैले कुरा उठाउँदैनन् । त्यसैले राजनीति गर्नेप्रति खासै विश्वास पनि रहेन ।”
सोही मुक्त कमैया बस्तीका चन्द्र चौधरीले पनि चुनाव आउन लागेको कुरा थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बिहानदेखि बेलुकीसम्म मजदुरीमै हुन्छौँ, गाउँघरतिर नेताहरू आउँछन् भन्ने सुन्छौँ, तर भेट हुँदैन । उनीहरूका पछाडि हिँड्ने हामीलाई फुर्सद छैन, हाम्रा समस्या बुझ्ने उहाँले कहिल्यै चाहानु भएन ।” उहाँका अनुसार बस्तीका सबै परिवार स्थायी वासको प्रतीक्षामा छन् ।
घोराहीको मुक्त कमैया बस्ती मात्र होइन, लमही नगरपालिका–३, टिक्लीगरस्थित कमैया मुक्ति नगर बस्तीलाई पनि चुनावले खासै छुन सकेको छैन । यो बस्तीका गीता चौधरीले भन्नुभयो, “हामी सबै बिहानै मजदुरी गर्न जान्छौँ । चुनावमा उठेका मान्छे दिउँसो आउँछन् होला, भेट भएको छैन । लालपुर्जाको आसमा पटक पटक भोट हाल्यौँ । अहिले २५ वर्ष पुग्न थाल्यो । अझै पनि लालपुर्जाको आसमा बसेका छौँ ।” सोही बस्तीका चिड्दी चौधरीले उस्तै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “चुनावका बेला लालपुर्जा दिने वाचा गर्दै नेताहरू आउँछन् तर चुनाव जितेपछि फर्किंदैनन् ।”
यही कारणले अहिले दाङका अधिकांश मुक्त कमैया बस्तीमा चुनावप्रति त्यति चासो देखिएको छैन । यहाँका मुक्त कमैया परिवारले बिहान ताला लगाएर मजदुरीमा जाने, बेलुकी फर्केपछि घरको ताल्चा खोल्ने गर्छन् ।