• ५ फागुन २०८२, मङ्गलबार

उखु खेतमा आगलागी, एक करोडभन्दा बढीको क्षति

blog

लहान नगरपालिका–१३ मा जलेको उखु खेत। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, फागुन ५ गते ।
लहान नगरपालिका–१३, घले टोलका किसानले लगाएको उखुमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।

सोमबार दिउँसो करिब १२ बजेतिर सरस्वती र घले टोल जाने कच्ची बाटोको पश्चिम किनारस्थित खेतबाट आगो सुरु भएको थियो। आगो नियन्त्रणमा लिन ढिलाइ हुँदा १५ जना किसानको करिब १५ बिघा खेतमा लगाइएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार करिब एक करोड १६ लाख रुपियाँ बराबरको क्षति भएको छ।

लहान नगरपालिकाबाट २० मिनेटमै दमकल पुग्न सक्ने दूरी भए पनि नगरपालिकाको दमकल बिग्रिएको अवस्थामा रहेकाले गोलबजार नगरपालिका बाट आएको दमकल घटनास्थलमा पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।

उखु जलेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै किसान रामलखन मण्डलले उखु भित्र्याउने समयमा भएको क्षतिको राहत उपलब्ध गराउन स्थानीय सरकारसँग माग गर्नुभएको छ।

२४ वडा रहेको लहान नगरपालिकामा दुई वटा दमकल हुनुपर्नेमा रहेको एउटा दमकलसमेत मर्मत नभएकाले आगलागी नियन्त्रणमा समस्या हुँदै आएको स्थानीयवासीको गुनासो छ। लहान–१३ का स्थानीय सुभकलाल यादवले पछिल्ला वर्षहरूमा आगलागी हुँदा गोलबजार नगरपालिकाकै दमकलको भर पर्नुपरेको बताउनुभयो।

कृषक महासङ्घका केन्द्रीय सदस्य रामनारायण महतोले क्षतिपूर्ति दिलाउन हिमाल चिनी मिलसँग समन्वय गरी स्थलगत अनुगमन थालिएको जानकारी दिनुभयो। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले प्रभावित किसानलाई राहतका लागि सक्दो सहयोग गर्ने र थप सहयोगका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

रामलखन मण्डल, विसुनदेव यादव, रामदयाल मण्डल, कारी मण्डल, रामविहारी मण्डललगायत १५ जना किसानको खेतमा लगाइएको उखु जलेको प्रहरीले जनाएको छ।