• ५ फागुन २०८२, मङ्गलबार

चुनावी प्रतिबद्धतापत्र : बन्दरगाह निर्माणदेखि युवालाई रोजगारी दिनेसम्म

blog

कैलाली–२ नेकपा (एमाले) उम्मेदवार सूर्यबहादुर थापा र कैलाली–१ का उम्मेदवार जनकराज चौधरीले आआफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुहुँदै ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), फागुन ५ गते । प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरेर उम्मेदवारले जनतालाई रिझाउन आआफ्ना चुनावी प्रतिबद्धतापत्र जनतामाझ लैजान थालेका छन् । यसक्रममा कैलाली क्षेत्र नम्बर २ नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । 

उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा आर्थिक विकास र पर्यटन, पूर्वाधार विकासलाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको छ । ‘हरित समृद्धि अभियान’ अन्तर्गत स्मार्ट एग्रिकल्चर र रुलर प्रोस्पेरिटीमार्फत उत्पादनमुखी तथा वातावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने उल्लेख गरिएको छ ।

थापाले क्षेत्रभित्रका सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार तथा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्ने उल्लेख गर्नुभएको छ । साथै युवालाई सिपमूलक तालिम प्रदान गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नु हुँदै थापाले आफू निर्वाचित भए राज्यबाट प्राप्त सेवा–सुविधा विपन्न तथा जेहेनदार बालबालिकाको गुणस्तरीय शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

राजाकाँडा फलफूल बगैँचा परियोजनामार्फत सुन्तला, कागती, एभोकाडोलगायतका फलफूलको एकीकृत खेती क्षेत्र निर्माण गर्ने योजना उहाँले अघि सार्नुभएको छ । त्यसै गरी बहुमूल्य जडीबुटी कोरिडोर स्थापना, सङ्कलन–प्रशोधन–निर्यात संरचना विकास तथा औद्योगिक पुनर्जागरण अभियानमार्फत उत्पादन र रोजगारी विस्तार गर्ने योजना समेटिएको छ ।

आठ वटा शीर्षकमा सार्वजनिक प्रतिबद्धतापत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, कृषि तथा उत्पादन, युवा तथा खेलकुद, वन वातावरण तथा विपत् व्यवस्थापन, धार्मिक तथा पर्यटन विकास, सुशासन तथा संस्थागत विकासलाई जोड दिइएको छ । चिसापानी राजकाँडा केबुलकारका अभियन्ता तथा लगानीकर्ता थापा पर्यटन रूपान्तरण अभियानलाई गन्तव्य सुदूरपश्चिमका रूपमा विकास गर्ने योजना बनाउनुभएको छ । उहाँले पाँच वर्षमा आफ्नो क्षेत्रमा पाँच हजार जनालाई रोजगारी सिर्जना गर्दै २० हजार परिवारलाई आत्मनिर्भर, स्वावलम्बी बनाउने प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नन्दबहादुर साउद (राजेन्द्र) ले यसअघि नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसक्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले पार्टीको घोषणापत्र केही दिनमा सार्वजनिक गर्ने बताउँदै आफ्नो घोषणापत्र निर्वाचन कार्यालयमा बुझाएको बताउनुभयो । उहाँले आफूले तयार गरेको घोषणापत्रमा क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार विकासका योजना समेटेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार पतिराम चौधरीले प्रतिबद्धतापत्र पार्टीका अध्यक्षले तयार गरेर पठाएको जाकारी दिनुभयो । उहाँले आफ्नो क्षेत्रको समस्यालाई थपघट गरेर जनतामाझ प्रतिबद्धतापत्र लैजाने बताउनुभयो । कैलाली २ का उम्मेदवारले ल्याएका चुनावी प्रतिबद्धता धेरैजसो मिल्दाजुल्दा नै छन् । 

चौधरीको प्रतिबद्धता 

टीकापुर समाचारदाताका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार जनकराज चौधरीले पनि आफ्नो चुनावी सङ्कल्प सार्वजनिक गर्नुभएको छ । आइतबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै चौधरीले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य, कृषि, युवालाई रोजगारी, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण र सुशासन कायम गर्नेलगायतका नौ बुँदे सङ्कल्प सार्वजनिक गर्नुभएको छ । ‘बदलियो कांगे्रस, बदल्छौं देश’ भन्ने सङ्कल्पका साथ मतदाताप्रतिको दायित्व पूरा गर्न आफ्नै निर्वाचन क्षेत्रमा सांस्कृतिक एकाडेमी, स्पोर्ट्स एकाडेमी स्थापना गर्ने, हरेक वर्ष एक सय युवालाई सहकारी र उद्यमशीलताका विकास गर्न ‘सिड मनी’ दिने, सांसद छात्रवृत्ति कोषको स्थापना गरी गरिब, थारू, दलित, महिला तथा सीमान्तकृत विद्यार्थीलाई दिइने, प्रारम्भिक तहमा थारू भाषामा आधारित शिक्षा प्रदान गर्ने चौधरीले बताउनुभएको छ ।

चौधरीको सङ्कल्पपत्रमा टीकापुरमा सुक्खा बन्दरगाह निर्माणमा विशेष जोड दिने, व्यवस्थित बस्तीलाई योजनाबद्ध बस्तीमा विकास गर्ने उल्लेख छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गर्न लागेको टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि भूमिको व्यवस्था गर्ने पनि चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ । कर्णाली कोरिडोर, सेती राजमार्ग, टीकापुर अस्पताललाई एक सय शøयाको बनाउने यहाँ खुलेका प्राविधिक शिक्षालयको स्तरवृद्धिका लागि ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता पनि उल्लेख छ । 

२०७० सालमा फोरम लोकतान्त्रिक पार्टीबाट यही क्षेत्रमा संविधान सभा सदस्य निर्वाचित हुनुभएका चौधरी हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति हुनुहुन्छ । अघिल्लो निर्वाचनमा संविधान बनाउन व्यस्त भएको बताउनुभएका चौधरी २०७० को संविधान सभा सदस्य निर्वाचित भएर संसद्को वन वातावरण समितिको सभापति र स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो । आइतबार नै प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. जनकराज शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरका प्रतिबद्धतापत्र पनि सार्वजनिक गरिएका छन् । नेकपा (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले भने अघिल्लो साता नै आफ्नो प्रतिबद्धता सार्वजनिक गरिसक्नुभएको छ ।