• ५ फागुन २०८२, मङ्गलबार

चिया पसल प्रचारको थलो

blog

चिया पसलमा चुनावी गफ गर्दै नेता तथा कार्यकर्ता । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन ५ गते । सदरमुकाम बेँसीसहरको फूलबारी चोकको परी चिया पसलमा हिजोआज हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागिभन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी, नागरिक अगुवा, पत्रकार आदि हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । स्थानीयसमेत रहनुभएका एक बिमा कम्पनीमा कार्यरत श्याम रावल दिनमा तीन/चार पटक चिया पसलमा पुग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिया पसलमा सबै दलमा आस्था राख्नेहरू भेट हुनुहुन्छ । चुनावको बारेमा सबैका कुरा सुन्न पाइन्छ । चुनावको गतिविधि, नेता र मतदाताको विचार बुझिन्छ ।”

मस्र्याङ्दी बहुमुखी क्याम्पसका विद्यार्थी नेता ओमप्रकाश गुरुङ पनि दिनमा तीन/चार पटक चिया पसल पुग्दा चुनावका बहस सुन्ने मौका मिल्ने बताउनुहुन्छ । हिजोआज चिया पसल चुनावी प्रचारको थलो जस्तो बन्न पुगेको छ । सदरमुकाम बेँसीसहर मात्र हैन, सुन्दरबजार, भोटेओडार, भोर्लेटार, राइनासका सहरी इलाका र गाउँघरमा रहेका पसल, चौतारामा चुनावकै चर्चा हुन्छ । सार्वजनिक यातायातमा समेत चुनावको बहस चल्ने गरेको छ । उम्मेदवारबारे आआफ्ना धारण राख्दै पक्ष विपक्षमा बहस हुने गर्छन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले चिया पसल र सामाजिक सञ्जालबाट नागरिकका धारणा बुझ्न सजिलो भएको बताउनुभयो । यस्ता छलफल तथा बहसमा कतिपयले अझै पनि चुनाव हुँदैन कि भन्ने आशङ्का व्यक्त गर्ने गरेका छन् । संसद् पुनस्र्थापना हुन सक्ने, कुनै ठुला अप्रिय घटनाक्रम भएर निर्वाचन रोकिन सक्ने उनीहरूको बुझाइ छ । मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकाल भन्नुहुन्छ, “चुनावको गति धेरै रफ्तारमा अघि बढिसकेको छ । अब फागुन २१ मा ढुक्कले चुनाव हुन्छ । सबै पक्ष सक्रिय भएर सफल बनाउन लाग्नु पर्छ ।”

एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा (एमाले) का उपाध्यक्ष पृब्बीसुब्बा गुरुङ, नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हरिजङ्ग तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धर्मराज केसी चुनावै मैदानमा हुनुहुन्छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केवीन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रवीन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेसनल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्रबाट सन्तोष घिमिरे उम्मेदवार रहनुभएको छ । लमजुङमा एक लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् ।