• ५ फागुन २०८२, मङ्गलबार

नवलपरासीमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

blog

प्रतापपुर गाउँपालिकामा बालबालिकाको पोषणको अवस्था लेखाजोखा गर्दे स्वास्थ्यकर्मीहरू । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन ५ गते ।
पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकाकामा कुपोषणको अवस्था गम्भीर देखिएको छ । स्थानीय तहसँगको समन्वयमा हेलन केलर इन्टरनेशनलले बेस नेपाल मार्फत सञ्चालन गरेको पोषणमार्फत जीवन रूपान्तरण परियोजनाअन्तर्गत जिल्लाका सातै स्थानीय तहमा जारी बालबालिकाको पोषण लेखाजोखाका क्रममा १५ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको हो । हालसम्म १३ हजार २२६ जना बालबालिकाको जाँच गर्दा १३ दशमलव ७ प्रतिशत अर्थात एक हजार ८१६ जनामा मध्यम कुषोषण र एक दशमलव तीन प्रतिशत अर्थात एक सय ७२ जनामा कडा खालको कुपोषण देखिएको छ ।  

जिल्लाका ६ महिनादेखि ५९ महिनासम्मका कुल २२ हजार ६३६ जना बालबालिकाको पोषण लेखाजोखा गर्ने लक्ष्य लिइएको छ । बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलले  थप एक महिना भित्र सबै बालबालिकाको जाँच सक्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । मध्यम कुपोषण भएका बालबालिकाहरूलाई स्वास्थ्य संस्थाहरूले उपचारात्मक खाना (सुपरसिरियल प्लस) खुवाउन सुरु गरेका छन् भने कडा कुपोषणमा रहेका बालबालिकाहरूलाई नेपाल सरकारबाट प्राप्त आ.यु.टि.एफ. खुवाइएको छ ।

यसका साथै कुपोषित बालबालिकाको घरघरमा पुगेर बालबालिकाहरूलाई उपलब्ध गराइएको उपचारात्मक खाना खुवाए नखुवाएको, बालबालिकाको स्वास्थ्य सुधारको अवस्था तथा सरसफाइ र खानपानका बारेमा घरघरमा पुगेर परामर्श गर्ने कार्यलाई समेत अगाडि बढाइएको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । सङ्ख्यात्मक रुपमा रामग्राम, सुनवलमा धेरै कुपोषित बालबालिका भेटिए पनि कम बालबालिकामा धेरै कुपोषित बालबालिका भेटिनेमा सरावल सबैभन्दा अगाडि छ । सरावलमा १४ सय ३० जनाको जाँच गर्दा २१ जनामा कडा र दुई सय ७६ जनामा मध्यम खालको कुषोषण फेला परेको छ ।

कडा कुपोषण भएका बालबालिकामा मृत्यु, दीर्घकालीन रोग र शारीरिक तथा मानसिक विकासमा गम्भीर असर पर्ने जोखिम अत्यन्त उच्च हुने स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगंदबहादुर शाहीले बताउनुभयो । मध्यम कुपोषणको दर पनि १० प्रतिशतभन्दा माथि हुनु चिन्ताजनक अवस्था मानिन्छ । जिल्लामा हालसम्मको जाँचका क्रममा १३.७ प्रतिशतको दरले मध्यम कुपोषित बालबालिका भेटिनु गम्भीर अवस्था भएको शाहीले बताउनुभयो । यस्ता बालबालिका समयमै पहिचान  गरेर उपचार नगरे कुपोषणतर्फ जाने सम्भावना उच्च हुन्छ ।