• ५ फागुन २०८२, मङ्गलबार

सप्तरीमा नेपाली सेनाद्वारा गस्ती

blog

नेपाली सेनाको टोलीले बजार क्षेत्रमा रात्रिकालीन गस्ती गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन ५ गते ।
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ। जिल्ला प्रशासन सप्तरीको एकीकृत सुरक्षा योजनाअनुसार राजविराजस्थित नेपाली सेनाको बरख गणले सुरक्षा गतिविधि थप सशक्त बनाएको हो।

बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार आमनागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउने लक्ष्यसहित सवारी (भेहिकल) तथा पैदल गस्तीलाई व्यापक रूपमा विस्तार गरिएको छ। संवेदनशील क्षेत्र, मतदान केन्द्र वरपर, मुख्य बजार क्षेत्र, सीमा नजिकका इलाका तथा आवागमनका प्रमुख मार्गहरूमा नियमित निगरानी, चेकपोस्ट सञ्चालन र गस्ती कार्यक्रम तीव्र रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध आवागमन, अफवाह तथा अशान्ति फैलाउने प्रयासलाई समयमै नियन्त्रण गर्न सुरक्षाकर्मीहरू २४ घण्टा सक्रिय अवस्थामा परिचालन गरिएको उहाँले बताउनुभयो । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीचको घनिष्ठ समन्वयमा सञ्चालन भइरहेको एकीकृत सुरक्षा व्यवस्थाले जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको उहाँको भनाइ छ।