• ५ फागुन २०८२, मङ्गलबार

बदलिएको कांग्रेसले जनताको माग पूरा गर्ने दाबी, आलमको घरदैलो तीव्र

blog

घरदैलो कार्यक्रममा सहभागी नेपाली कांग्रेसका रौतहट क्षेत्र नं. २ का उम्मेदवार मो. फिरदोश आलम। तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
रौतहट, फागुन ५ गते ।
रौतहट क्षेत्र नं. २ को समग्र विकास ‘बदलिएको कांग्रेस’बाट मात्र सम्भव हुने दाबी गर्दै नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका ३९ वर्षीय युवा मो. फिरदोश आलमले घरदैलो कार्यक्रम तीव्र बनाउनुभएको छ।

यस क्षेत्रका जनताको समस्या समाधान नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिरहनुभएको छ। नेपाल तरुण दल का केन्द्रीय सदस्य मो. नौशाद आलमका अनुसार हरेक युवाको मनोभावनाअनुसार कांग्रेस रुपान्तरित भएको छ र युवाको इच्छा–आकांक्षा पूरा गर्न सक्षम रहेको सन्देश घरदैलोमार्फत दिइँदैछ। उम्मेदवार आलमले मतदातालाई रुख चिन्हमा मतदान गर्न आग्रह गरिरहनुभएको छ।

‘जेनजी आन्दोलन’पछि कांग्रेस पुनर्जन्म र रूपान्तरण भएको दाबी गर्दै उहाँले पार्टी सभापति गगन कुमार थापाको नेतृत्वमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइने बताउनुभयो। व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको भन्दै अब अवस्था परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव हुने विश्वास दिलाउन आफू निरन्तर लागिरहेको उहाँको भनाइ छ।

उहाँका अनुसार क्षेत्र नं. २ का मुख्य समस्या युवाको विदेश पलायन, कृषिमा सिँचाइ अभाव, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको कमी हुन्। यी समस्या समाधानमा आफू गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूलाई मत नदिएका मतदाताबाट समेत यसपटक समर्थनको आश्वासन प्राप्त भइरहेको दाबी गर्दै उहाँले जित्ने आधार बलियो बन्दै गएको बताउनुभयो। हजुरबुबादेखि नै परिवार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेकाले जनताको समर्थन आफू पक्षमा रहेको उहाँको भनाइ छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार मो. आलमले २८ हजार २४८ मत प्राप्त गर्नुभएको थियो। त्यसबेला स्वतन्त्र उम्मेदवार किरणकुमार साह ३२ हजार ८४२ मतसहित विजयी हुनुभएको थियो। साह हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट रौतहट–२ मा उम्मेदवार छन्। रौतहट क्षेत्र नं. २ मा अन्य उम्मेदवारहरूले पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।