• ५ फागुन २०८२, मङ्गलबार

बागलुङ –१ कांग्रेसद्वारा एकै साथ ३७ वडामा चुनावी अभियान

blog

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले बागलुङ बजारमा गरेको कार्यक्रम । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन  ५ गते ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले सबै वडामा एकै साथ चुनावी अभियान सुरु गरेको छ । बागलुङ क्षेत्र नम्बर १  का ३७ वटा वडामा एकै पटक औपचारिक कार्यक्रमसहित अभियान सुरु गरिएको हो ।

“एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश फागुन चार” भन्ने मुख्य अभियानसहित वडा तहमा औपचारिक रुपमा निर्वाचनका कार्यक्रमहरु सुरु भएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुलाई फागुन ४ देखि १८ गतेसम्म मात निर्वाचन प्रचार प्रसारको अवधि तोकेको हुँदा सोमबारदेखि वडा तहमा औपचारिक रुपमा अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रमा ३७ वटै वडामा एकैसाथ कार्यक्रम गरी कांग्रेसका उम्मेदवार भीम श्रीसलाई जिताउन संगठन परिचालन तीव्र बनाइएको पौडेलले बताउनुभयो ।

‘‘आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आफ्नो औपचारिक रूपमा चुनावी अभियान सुरु गरेको छ । यस क्षेत्रका ३७ वटै वडामा एकै दिन, एकै समय, एकैसाथ कार्यक्रम आयोजना गर्दै प्रचार अभियान थालिएको हो,’’ पौडेलले भन्नुभयो, ‘‘क्षेत्रीय कार्यसमितिको संयोजनमा प्रत्येक वडामा एक जना प्रतिनिधि अनिवार्य खटिनुभएको छ । उहाँहरुको संयोजनमा वडा तहमा सोमबार दिउँसो १ बजे एकै पटक अभियानको शुभारम्भ भएको छ ।”

क्षेत्रले वडा र प्रत्यक निर्वाचन बुथमा सम्पर्क कार्यालय पनि सञ्चालन गरेको बताइएको छ । कार्यक्रममा चुनावी रणनीति निर्माण, मतदाता लक्षित कार्यक्रम, घरदैलो अभियानको प्रभावकारिता, संगठन सुदृढीकरण तथा बूथ व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको भएको छ ।

यस क्षेत्रका ३७ वटामा ४५ जना प्रतिनिधि खटाईएको क्षेत्रीय सचिव तेजप्रसाद शर्माले जानकारी दिनुभयो । यस क्षेत्रबाट जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य महाधिवेशन महासमिति सदस्य, क्षेत्रीय समितिका पदाधिकारी, सदस्य, पूर्व जिल्ला सदस्य, पूर्व पदाधिकारीहरु र प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु रहेका छन् ।

कार्यक्रममा बोल्ने नेताहरूले यसपटक कांग्रेस नयाँ सोच, नयाँ कार्यशैली र स्पष्ट विकास दृष्टिकोणसहित जनतामाझ आएको दाबि गरेका छन । उहाँहरुले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै बागलुङ क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार भीम श्रीसलाई विजयी गराउनुको विकल्प नरहेको बताउनुभएको थियोे ।

निर्वाचनका लागि लक्षित गरि नेतृत्व तहबाट आगामी दिनमा हरेक टोलसम्म पुग्ने गरी घरदैलो अभियान विस्तार गर्ने, युवालाई लक्षित विशेष संवाद कार्यक्रम सञ्चालन गर्ने र महिला तथा ज्येष्ठ नागरिकसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिने सचिव शर्माले जानकारी गराउनुभयो ।

कांग्रेसले यस क्षेत्रमा त्रिभुवन विश्वविद्यालयका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति तथा राष्ट्रियस्तरका क्रिकेट अम्पायर भीम श्रीसलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै संगठन निर्माणमा योगदान दिएका श्रीस खेलकुद क्षेत्रमा पनि परिचित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।

उहाँ कांग्रेसको हाल केन्द्रीय सदस्य हुनुहुन्छ । वडा तहका कार्यक्रममा सहभागी नेताहरूले श्रीसको राजनीतिक अनुभव, युवा पुस्तामाझको पहुँच र सामाजिक सक्रियतालाई चुनावी बलको रूपमा लिएका छन् । श्रीसले आफ्नो उम्मेदवारी विकास, सुशासन र पारदर्शितामा केन्द्रित रहने बताउनुभयो । उहाँले क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

जिल्लामा क्रियाशील दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिताका कारण यसअघि खुला सभा तथा औपचारिक कार्यक्रमहरू गर्न नसकिए पनि घरदैलो र आन्तरिक संगठनात्मक बैठकहरू जारी राखेका थियो ।  

बागलुङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न दलहरू आ–आफ्ना एजेन्डासहित मतदातामाझ पुगिरहेका छन् । यस्तो अवस्थामा कांग्रेसले संगठित र योजनाबद्ध अभियानमार्फत आफ्नो जित सुनिश्चित गर्ने दाबी गर्दै अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरेको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

दलहरूले आफ्नो औपचारिक रूपमा प्रचार कार्यक्रम सुरु गरेसँगै चुनावी माहोल तातेको छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा राजमो–नेकपा गठबन्धन लगायतका दलहरु रहेका छन् ।