काठमाडौँ, फागुन ५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले वर्तमान सरकारको मुख्य म्यान्डेट नै स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा समावेशी निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल को आयोजना र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआईएन) को सहयोगमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सूचित भएर मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
चुनावमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्र महिला उम्मेदवार रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था सुधार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो। निर्वाचनमा महिला मतदाताको सहभागिता बढाउन मन्त्रालयले आगामी हप्तादेखि विशेष अभियान सञ्चालन गर्ने पनि उहाँले जानकारी दिनुभयो।
सातै प्रदेशको निर्वाचन तयारीका बारेमा जानकारी लिँदा महिला सहभागिता बढाउने, अपाङ्गतामैत्री तथा पहुँचयोग्य मतदानस्थल सुनिश्चित गर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको उहाँको भनाइ थियो। निर्वाचन अधिकारीलगायत सरोकारवालाले महिला सहभागिता, समावेशीता र सबैको पहुँच सुनिश्चित हुने गरी निर्वाचनको तयारी भइरहेको जानकारी दिएको पनि उहाँले बताउनुभयो। साथै, चुनावमा बालबालिकाको दुरुपयोग रोक्न सबैले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन स्वच्छ र सहभागितामूलक बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सहभागी तथा सरोकारवाला निकायका प्रतिनिधिले बताएका थिए।
एआईएनका अध्यक्ष डा. एसपी कलौनीले निर्वाचन भयमुक्त र स्वच्छ रूपमा सम्पन्न होस् भन्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विकास साझेदारहरूको चाहना रहेको उल्लेख गर्दै नागरिक समाजले आवाजविहीनहरूको प्रतिनिधित्व गर्नुपर्ने, जवाफदेहिता बढाउन तथा प्रणाली सुधारका लागि परामर्श र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।
प्रयत्न नेपालकी अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी सरिता लामिछानेले फागुन २१ गते हुने निर्वाचन पहुँचयुक्त बनाउनुपर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्र दृष्टिविहीन, श्रवण क्षमता गुमाएका लगायतका अपाङ्गता भएका व्यक्तिहरूले पनि सहजै बुझ्ने गरी उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले चुनावको समयमा बालबालिकाको दुरुपयोग रोक्न राजनीतिक दल, उम्मेदवार तथा नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो। एआई प्रविधिमार्फत पनि बालबालिकाको दुरुपयोग भइरहेको उल्लेख गर्दै उहाँले यस्ता घटना भएमा तत्काल उजुरी गर्न आग्रह गर्नुभयो।
कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले स्वतन्त्र नागरिकको अधिकार हनन नहुने गरी अघि बढ्नुपर्ने समय आएको बताउनुभयो। राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्रमा कृषिको विषय समावेश गर्नुपर्नेमा महासङ्घले ध्यानाकर्षण गराइसकेको पनि उहाँले बताउनुभयो।
अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले आगामी निर्वाचन समावेशी र पहुँचयुक्त बनाउन सरोकारवालासँग सहकार्य गर्दै अघि बढेको जानकारी दिँदै अकोराब र सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले सन्तुलित र तटस्थ सूचना प्रवाहका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पूर्ण पालना गर्ने तथा सामुदायिक रेडियोहरूले स्थानीय भाषामा सूचित निर्वाचनको माहोल बनाउन विषयवस्तु प्रसारण गरिरहेको पनि उहाँले बताउनुभयो।
छलफलमा भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सहभागितालगायत विषयमा नागरिक समाजको भूमिका र आगामी सुधारका पक्षबारे सरोकारवालाबीच विचारविमर्श गरिएको थियो।