• ५ फागुन २०८२, मङ्गलबार

गुल्मीको सत्यवती माविमा जलवायु मापन केन्द्र स्थापना

blog

सत्यवती माविमा स्थापना भएको जलवायु मापन (तापक्रम तथा वर्षा मापन) केन्द्र । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन ५ गते ।
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसराको सत्यवति माविमा जलवायु मापन (तापक्रम तथा वर्षा मापन केन्द्र) स्थापना भएको छ । त्रिभुवन विश्व विद्यालय कीर्तिपुर (जल तथा मौसम केन्द्रीय विभाग), लुसान विश्वविद्यालय स्विट्जरल्याण्डको संयुक्त आयोजना परियोजनाअन्तर्गत केन्द्र स्थापना गरिएको हो ।

यो केन्द्र मनाङपछि गुल्मीको सत्यवति माविमा दोस्रो पटक स्थापना गरिएको भौगर्भिक विज्ञ डाक्टर कबिराज पौड्यालले बताउनुभयो । उक्त केन्द्रबाट आद्रता, तापक्रम तथा वर्षासम्बन्धी आधिकारिक तथ्याङ्क संकलन हुनेछ । सत्यवती गाउँपालिकासहित समग्र गुल्मी जिल्लाका लागि उपयोगी सूचना उपलब्ध हुने पौड्यालले बताउनुभयो । उहाँले यो केन्द्रले विद्यार्थी र शिक्षकहरुका लागि अनुसन्धानमूलक तथा व्यवहारिक सिकाइ वातावरण सुदृढ गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

बिद्यालयका शिक्षक र विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट उपस्थित भौगर्भिक विज्ञ डा. कबिराज पौड्याल, मौसम तथा जलवायु विज्ञ डा. बिनोद दवाडी, समाजशास्त्र तथा मानवविज्ञान विज्ञ जीवन पौडेलसहितको टोलीले उपयोगीताको बिषयमा सहजीकरण गर्नुभएको थियो । टोलीले बडिगाड नदी क्षेत्र, रुद्रबेणी–वामी सडकखण्ड तथा आसपासमा पहिरोका कारण र न्यूनीकरण उपायबारे स्थलगत अवलोकनसहित महत्त्वपूर्ण जानकारी प्रदान गरेको सत्यवति मावि बिद्यालय व्यावस्थापन समिति अध्यक्ष लिलबहादुर क्षेत्रीले बताउनुभयो ।

सत्यवति माविमा ५२७ विद्यार्थी रहेका छन् । गत वर्षको एसइई परीक्षामा सृजित भण्डारी र अर्जुन भण्डारीले चार जिपिए प्राप्त गरेर चर्चा कमाएका थिए ।